हंगकंगमा प्रदर्शनकारीमाथि बल प्रयोग

  • 28 सेप्टेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption जारी प्रदर्शनबीच हंगकंगमा तनाव बढ्दै गाएको बताईएको छ।

हंगकंगमा शहरको मध्यभाग ओगटेर बसेका प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुलाई हटाउन त्यहाँको प्रहरीले बल प्रयोग गरेको छ।

हंगकंगको प्रमुख पदका लागि तीन वर्षपछि हुन लागेको निर्वाचनसम्बन्धी केही नियमहरु खारेज गर्न माग गर्दै प्रदर्शनकारीहरु मुख्य सरकारी भवनअगाडि जम्मा भएका थिए।

सुरक्षाकर्मीले लगाएको बार प्रदर्शनकारीहरुले हटाउन खोजेपछि प्रहरीले बल प्रयोग गरेको बताईएको छ।

प्रदर्शनकारीलाई तितरबितर पार्न सुरुमा अश्रुग्यासको प्रयोग गरेको प्रहरीले शहरको मध्यभागबाट नहटे थप कडा बल प्रयोग गर्ने चेतावनी दिएको छ।

असन्तुष्टि

सन् २०१७ मा हंगकंगको प्रमुख कार्यकारी पदका लागि हुन लागेको निर्वाचनमा एउटा मनोनयन कमिटीले छानेका व्यक्तिले मात्रै भाग लिन पाउने नियम बनेपछि असन्तुष्टि तीव्र भएको थियो।

उक्त कमिटीमा बेइजिंगको छाया पर्न सक्ने भन्दै प्रदर्शनकारीहरुले खुला रुपमा जसले पनि चुनाव लड्न पाउनुपर्ने माग गर्दै आएका छन्।

चीनले तीन दिनयता जारी प्रदर्शनको भर्त्सना गरेको छ। हंगकंगका कार्यकारी प्रमुख सी वाइ लिउंगले उक्त प्रदर्शन गैरकानूनी भएको घोषणा समेत गरिदिएका छन्।