हंगकंगमा प्रजातन्त्र समर्थकहरु प्रदर्शनमै

  • 29 सेप्टेम्बर 2014
तस्वीर कपीराइट Getty
Image caption निरन्तरको प्रदर्शनले शहरका अधिकांश भाग ठप्पप्राय छन्।

हंगकंगमा सरकारी निकायको अपीलको बेवास्ता गर्दै शहरको मध्यभागमा दशौ हजार प्रदर्शनकारीहरुले अझै पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।

पछिल्ला दिनहरुको तुलनामा सोमबार ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भएका थिए।

आइतबार प्रदर्शकारीहरुमाथि सुरक्षाकर्मीले बल प्रयोग गरेपनि मानिसहरुको उत्साहमा कुनै कमी नआएको प्रदर्शन आयोजकहरुले जनाए।

उनीहरुका अनुसार २० वर्ष वा त्यो भन्दा मुनिका हजारौं युवायुवतीहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा सहभागी भएका छन्।

माग

त्यसैले पनि अब प्रदर्शनबाट पछि हट्न सम्भव नरहेको उनीहरुको भनाइ छ।

प्रदर्शनकारीहरुले सन् २०१७ मा हंगकंगको प्रमुख पदका लागि हुने निर्वाचनका नियमहरु खारेज गर्न माग गरिरहेका छन्।

प्रदर्शनमा सहभागी डेमोक्रेटिक पार्टीकी नेतृ एमिली लाउले भनिन्, "हामीले चाहेको के हो भने मतदाताहरुलाई उनीहरुले रोजेको उम्मेदवार छान्न दिनुपर्छ।"

एउटा मनोनयन कमिटीले छानेका व्यक्तिहरुले मात्रै उक्त निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ।

चेतावनी

यो व्यवस्थाविरुद्ध प्रदर्शन बढ्दै जाँदा चीनले हंगकंगमा कुनै पनि बाह्य समर्थन आफूलाई सह्य नहुने बताएको छ।

उक्त भनाइलाई प्रदर्शनकारीहरुलाई समर्थन नगर्न अन्य मुलुकलाई चेतावनीको रुपमा हेरिएको छ।

यसैबीच ब्रिटिश सरकारले हंगकंगको समृद्धि र सुरक्षा प्रदर्शन गर्न पाउने लगायतका अधिकार र स्वतन्त्रतामा आधारित रहेको बताएको छ।

उसले हंगकंगका जनतालाई कानुनको परिधिभित्र रहन अपील गर्दै प्रजातन्त्तर्फ हंगकंगको यात्रालाई समर्थन गर्ने जनाएको छ।