एन्टिबायोटिक दुरुपयोग रोक्न सरकारी पहल

  • 1 अक्टोबर 2014
एन्टिबायोटिक औषधी
Image caption चिकित्सकीय सिफारिस बिना एन्टिबायोटिक विक्रि गर्न नपाउने नियम ल्याउनुपर्ने जानकारहरुको मत छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग अनुसार तल्लो तहका स्वास्थ चौकीदेखि ठूला अस्पतालहरुले कुन कुन एन्टिबायोटिक सिफारिस गर्न पाउने भन्ने मापदण्ड तयार गरेको बताएको छ।

उक्त राष्ट्रिय एन्टिबायोटिक प्रयोग निर्देशिका लागु गर्न देशभरका अस्पतालहरुलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको चिकित्सा सेवा महाशाखाका प्रमुखले बीबीसीलाई बताए।

तर अभियानकर्ताहरुले एन्टिबायोटिक औषधीहरुको दुरुपयोग रोक्न चिकित्सकको सिफारिस विना त्यस्ता औषधीहरु विक्री गर्न नपाउने नियम कडा गरी लागू गरिनुपर्नेमा जोड दिएका छन्।

वर्गिकरण

निर्देशिकाले स्वास्थ्य संस्थाहरुलाई उपलब्ध भौतिक संरचना र जनशक्तिका आधारमा तीन तहमा वर्गिकरण गरेको छ।

जसअनुसार उपस्वास्थ्य चौकी र स्वास्थ्य चौकीले आधारभूत औषधीहरुमात्र सिफारिस गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालले मात्र केही एन्टिबायोटिक सिफारिस गर्न पाउने र विशेषज्ञ सेवा दिने मध्यमस्तरका अस्पतालहरुले आधारभूत औषधीमा जोड दिने तर विरामीको आवश्यकता अनुसार एन्टियाबायोटिकहरु सिफारिस गर्न सक्नेछन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले भने, “चिकित्सकको परामर्शका आधारमा मात्र एन्टिबायोटिकहरुको विक्रि वितरण गर्नको निम्ति नयाँ नियम ल्याइएको हो।”

नेपालमा औषधीमा हुने कुल खर्चको आधा एन्टिबायोटिकका लागि प्रयोग हुने गरेको स्वास्थ्य अधिकारीहरु बताउँछन्।

उक्त निर्देशिकाले एन्टिबायोटिक सिफारिस गर्दा त्यसको अनावश्यक प्रयोग नहोस्, त्यसले कुनै असुरक्षा ननिम्त्याओस र कम खर्चमा उपचार होस् भन्नेमा ध्यान दिन चिकित्सकहरुलाई सुझाव दिएको छ।

एन्टिबायोटिकहरुको व्यापक प्रयोग गरिँदा कतिपय संक्रामक जीवाणुहरुले त्यसमाथिको प्रतिरोधात्मक क्षमता अर्थात ‘एन्टिबायोटिक रेजिस्टेन्स’ विकास गरेको भन्दै विश्वव्यापी रुपमा चिन्ताहरु व्यक्त हुँदै आएका छन्।

जोखिम

अझ कतिपय त्यस्ता औषधीले शरिरलाई आवश्यक ब्याक्टेरियाहरु मारिदिने र त्यसका कारण पातलो दिशा आउने, मुखमा खटिरा देखिने, एलर्जीहरु देखापर्ने र कतिपय अवस्थामा ज्यानसम्म जाने जोखिम रहने चिकित्सकहरुको भनाई छ।

एलायन्स फर प्रुडेन्ट युज अफ एन्टिबायोटिक्स् (अपूवा) नामक एउटा अन्तर्राष्ट्रिय संस्थाका अनुसार नेपालमा विरामीहरुका लागि गरिएका तीन चौथाइ औषधीका सिफरिस मापदण्ड विपरीत हुने गरेको र एक तिहाइ भन्दा बढी विरामीलाई औषधीहरु कसरी प्रयोग गर्ने भन्ने बारे कुनै जानकारी नहुने गरेको देखाएको छ।

एन्टिबायोटिकहरुको सहि प्रयोगबारे मानिसहरुमा निक्कै कम जानकारी रहेको क्लिनिकल फार्मकोलोजिष्ट एवं अपुवा नेपालका अध्यक्ष डाक्टर कुमुद कुमार काफ्लेले बताए।

“जथाभावी एन्टिबायोटिकहरु बेच्ने, मानिसहरुले घरमा जम्मा गरेर राख्ने समेत गरिएको छ।”

सरकारले युरोपका कतिपय देशहरुमा जस्तै चिकित्सकहरुको सिफारिस विना फार्मेसीहरुले एन्टिबायोटिक विक्री गर्न नपाउने नियम ल्याउनुपर्ने जानकारहरुको मत छ।

तर खुल्ला सीमाना, दक्ष जनशक्तिको अभाव लगायतले तत्कालै त्यस्तो व्यवस्था गर्न गाह्रो भएको सरकारी भनाइ छ।