हंगकंगमा ठूलो प्रदर्शनको तयारी

  • 1 अक्टोबर 2014
Image caption हातमा मोबाइल लिएर हजारौं प्रदर्शनकारीहरु मंगलबार राति नाचिरहेका देखिन्थे

बुधबार राष्ट्रिय दिवस सुरु हुनै लाग्दा हंगकंगमा प्रजातन्त्र समर्थकहरुले आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन्।

अभियान्ताहरुका अनुसार अहिलेसम्मकै ठूलो प्रदर्शन हुने अपेक्षा गरिएको छ।

दशौं हजार प्रदर्शनकारीहरुले विगत ६ दिनदेखि सहरका प्रमुख स्थानहरु ठप्प पारेका छन्।

मंगलबार सडकहरु तुलनात्मक रुपमा शान्त देखिएपनि साँझ पर्ना साथ प्रदर्शनकारीहरुको अस्थायी शिविरहरु भरिन थालेका थिए।

प्रदर्शन

विद्यार्थीसहितका प्रदर्शनकारीहरुले बुधबार प्रदर्शनलाई थप ठूलो बनाउने बताएका छन्।

अकुपाइ सेन्ट्रल अभियानका एकजना अभियन्ताले प्रदर्शनकारीहरुको संख्या एक लाख पुग्न सक्ने समाचार संस्था एएफपीलाई बताए।

विद्यार्थी नेता लेस्टर शमले भने, "दंगा प्रहरीबाट हामीहरु तर्सिनौं। कार्यकारी प्रमुख सी वाई लिउंगले राजीनामा नदिएसम्म पछाडि हट्दैनौ।"

प्रदर्शनकारीहरुले उम्मेद्वारसम्बन्धी योजना चीनले खारेज गर्नुपर्ने माग गरेका छन्।

हंगकंगमा नयाँ नेतृत्वका लागि सन् २०१७ मा निर्वाचन हुँदैछ।

निर्वाचनमा चीनले छानेका उम्मेद्वारहरु मात्र उठ्न पाउने बताईएको छ।

फेरबदल

लिउंगले प्रदर्शनकारीहरुलाई घर फर्किन आग्रह गरेका छन् भने चीनका राष्ट्रपति सी जीनपीङले हंगकंगमामाथि चीनियाँ प्रभाव कायम रहने दोहोर्याएका छन्।

मंगलबार बेइजिङमा कम्युनिस्ट पार्टीका नेताहरुलाई सीले एक मुलुक दुई प्रणालीसम्बन्धी निर्देशिकामा कुनै फेरबदल नगरी हंगकंगमाथि लागु गरिने तथा हंगकंग र मकाउको दीर्घकालीन उन्नति एवं स्थायीत्वको रक्षा गर्ने बताए।

पदबाट राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरुको माग लिउंगले अस्वीकार गरेका छन्।

सन् १९४९ मा कम्युनिष्ट शासन स्थापना भएको संझनामा हरेक अक्टोबर १ तारिखमा चीनमा राष्ट्रिय दिवस मनाईन्छ।

सोही अवसरमा बुधबार आयोजना हुने कार्यक्रममा लिउंग सहभागी हुने बताईएको छ।

बुधबार अबेरका लागि आतिशबाजी गर्ने कार्यक्रम तय गरिएपनि पछि आएर स्थगित भएको छ।