एल पी ग्यासमा पनि छिट्टै मूल्य प्रणाली

  • 1 अक्टोबर 2014
तस्वीर कपीराइट noc
Image caption अहिले एल पी ग्यास बिक्री गर्दा प्रति सिलिण्डर साढे पाँच सय रुपैँया घाटा बेहोर्नुपरेको निगमले बताएको छ।

डिजेल, मट्टितेल र पेट्रोलको विक्रीमा हालै स्वचालित मूल्य प्रणाली लागु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यासमा पनि छिट्टै उक्त प्रणाली लागु गरिने जनाएको छ।

निगमका एकजना अधिकारीले त्यसका लागि दशैंपछि आवश्यक प्रक्रिया थालिने बताए।

खाना पकाउने ग्यासको बिक्रीमा निगमले मासिक करोडौं रुपैयाँ घाटा बेहोर्नु परिरहेको अधिकारीहरुले बताएका छन्।

लामो कसरतपछि डिजेल, मट्टितेल र पेट्रोलमा स्वचालित मूल्य प्रणाली लागू भएपछि हौसिएका निगमका अधिकारीहरुले दोस्रो चरणमा ग्यास बिक्रीलाई पनि उक्त प्रणालीमा लगिने बताएका छन्।

विकल्प

खाना पकाउने ग्यासको बिक्री गर्दा सेप्टेम्बर महिनाभरमा ८० करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्नुपरेको भन्दै स्वचालित मूल्य प्रणालीमा जानुको विकल्प नभएको उनीहरुको भनाइ छ।

डिजेल, मट्टितेल र पेट्रोल बिक्रीमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै दशैं विदा सुरु भएकोले विदा पछाडि ग्यास बिक्रीलाई सो प्रणालीमा लैजाने तयारी थालिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए।

उनले भने, “यो दसैँ विदा लगत्तै पहिला हामी खाना पकाउने ग्यासमा दुइवटा रंगको दोहोरो मूल्य कायम गर्छौं। अनि त्यसपछि त्यसमा पनि स्वचालित मूल्य प्रणालीमा लैजान्छौं।”

सरकारले एक वर्ष अघि रातो रंगको सिलिण्डर घरायसी र नीलो रंगका सिलिण्डर औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने निर्णय गरेको थियो।

तर उक्त निर्णयमा एकल मूल्यमात्र भनिएकोले त्यसमा संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकिएको निगमका अधिकारीहरुले बताएका छन्।

कडाइ

सो प्रस्ताव पारित भएपछि घरायसी प्रयोजनका लागि प्रयोग गरिने सिलिण्डरमा केही सहुलियत दिइने प्रवक्ता घिमिरेले बताए।

रातो र नीलो सिलिण्डरको अनुगमन गर्न नसकेकोमा आलोचना खेप्दै आएको यथार्थबीच घिमिरेले अब त्यसमा कडाइ गरिने बताए।

उनले भने, “निलो सिलिन्डर ठूला ठूला ‍‌औद्योगिक क्षेत्रमा प्रयोग गर्न दिन्छौं, अनुगमन गर्दा यदि रातो प्रयोग भएको रहेछ भने त्यहाँबाट हटाउन लगाउँछौं।”

खाना पकाउने ग्यास बिक्री पनि स्वचालित मूल्यमा गएपछि मासिक घाटामा करोडौं रुपैयाँले कमी हुने अधिकारीहरुको विश्वास छ।