१७ औं एसियाडमा नेपाललाई पहिलो पदक

  • 2 अक्टोबर 2014
asiad तस्वीर कपीराइट ASIAD
Image caption १७ औं एसियाडमा नेपालले २५ वटा स्पर्धामा भाग लिएको छ

दक्षिण कोरियोको इन्चोनमा भइरहेको १७ औं एसियाली खेलकुदमा नेपालले करांतेबाट पहिलो पदक जितेको छ ।

प्रतियोगितामा नेपाली टोली पदक विहिन भएर फर्किने सम्भावना बढिरहेको बेला करांते खेल अन्तर्गतको एकल काता अर्थात प्रदर्शनको खेलमा विमला तामाङले सो पदक जितेकी हुन् ।

प्रतिष्ठा

१८ वर्षिया तामाङ्ले उत्तर कोरियाकी आफ्ना प्रतिद्वन्द्वीले भन्दा राम्रो प्रदर्शन गरी तेस्रो स्थान हात पारेकी हुन्।

उनले सुरुको खेलमा पाकिस्तानकी खेलाडीलाई जितेकी थिइन्। त्यसपछि भियतनामकी खेलाडीसंग पराजित भएपछि फाइनलमा पुग्ने उनको सपना तुहिएको थियो।

तर बिहीबार उनले तेस्रो स्थानका लागि भएको खेलमा जितेर मुलुकलाई नै १७ औं एसियाडमा पदकविहीन हुने अवस्थाबाट जोगाएकी छिन्।

२५ वटा स्पर्धामा भाग लिएको नेपालले प्रतियोगिता सकिनु एक दिनअघि सम्म एउटामात्रै पदक जितेको छ।

जितेपछि इन्चोनस्थित हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीसंग कुरा गर्दै उनले मुलुकका लागि पहिलो पदक जित्दा अत्यन्तै खुसी भएको प्रतिक्रिया दिइन्।

विवाद

राष्ट्रिय करांते संघ र अन्तर्राष्ट्रिय करांते संघबीचको विवादका कारण अन्तिम समयमा आएर करांतेका दुई खेलाडीको नाम हेरफेर गरिएको थियो।

विमलाको नाम पनि पछि राखिएको सूचीमा थियो।

तर उनले पदक दिलाएपछि उक्त विवाद पनि केही मत्थर हुने ठानिएको छ।

धादिंगकी तामाङ् तीन वर्षअघि धनगढीमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय च्याम्पियन पनि भएकी थिइन्।