‘काठमाण्डू–हेटौंडा सुरुङमार्ग निर्माण चाँडै’

  • 4 अक्टोबर 2014
कुलेखानी क्षेत्र
Image caption ५८ किलोमिटर लामो हुने प्रस्तावित सुरुङमार्ग निश्चित रकम तिरेर प्रयोग गर्न पाइनेछ।

काठमाडौंलाई तराईसंग जोड्ने छोटो र छरितो मार्गको रुपमा हेरिएको काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणमा एक क्यानडाली कम्पनीले ऋण दिने सहमति भएपछि यसको निर्माणकार्य शुरु हुने आशा बढेको बताइएको छ।

नेपालको निजी क्षेत्रले अहिलेसम्मकै सबभन्दा ठूलो पूर्वाधार बनाउन जिम्मा लिएको यो सुरुङमार्ग बनेमा काठमाडौंबाट हेटौंडा करिब एक घन्टामै पुग्न सकिनेछ।

नेपाल निर्माण कम्पनीका अध्यक्ष कुशकुमार जोशीले यो सुरुङमार्ग निर्माणको लागि एक क्यानडेली कम्पनीले कुल लगानीको ८० प्रतिशत ऋण दिने भएको र बाँकि २० प्रतिशत निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनीले जुटाइ सकेको बताएका छन्।

“जनताको लगानी र निजी क्षेत्रको लगानी जोडेर २० प्रतिशतको लगानीको जोहो हामीले गरिसकेका छौं।“

नेपालको निजी क्षेत्रले अहिलेसम्मकै सबभन्दा ठूलो पूर्वाधार बनाउने जिम्मा लिएको यस परियोजनाको निर्माणमा तिन वर्ष लाग्ने अनुमान व्यवसायीहरुको छ।

ऋण

विशाल भौतिक पुर्वाधार निर्माणमध्ये हालसम्म जलविद्युत क्षेत्रमा मात्र लगानी गर्दै आएका नेपालका निजी व्यवसायीहरुले पहिलोपल्ट यातायात मार्गमा हात हाल्न लागेको यहि परियोजना हो।

३५ अर्व रुपैंयाँको कूल लागत अनुमान गरिएको उक्त आयोजनाका लागि क्यानडाली कम्पनीले ऋणका अलावा व्यवस्थापनको काम पनि हेर्न खोजेको जोशी बताउँछन्।

नेपाली निर्माण कम्पनीले तयार गरेको आयोजनाको प्रारुपका बारेमा पनि हाल उक्त कम्पनीले अध्ययन गरिरहेको र उनीहरुको मापदण्डको बारेमा पनि छलफल भइरहेको बताइएको छ।

अध्यक्ष जोशीका अनुसार ऋण लिने प्रक्रिया थालनी भइसकेकाले तिन महिनापछि निर्माण काम सुरु हुनेछ।

हाल काठमाण्डूदेखि नारायणगढ हुँदै हेटौंडा पुग्न करिब साढे दुई सय किलोमिटरको दूरि पार गर्नु पर्दछ।

दूरि

५८ किलोमिटर लामो हुने यो सुरुङ मार्ग निश्चित रकम तिरेर प्रयोग गर्न पाइनेछ।

उक्त मार्ग सञ्चालनमा आएपछि हेटौंडा पुग्न प्रतिघण्टा ६० किलोमिटरको दरले सवारीसाधन चलाउँदा करिब एक घण्टा लाग्ने अनुमान छ।

निजि क्षेत्रबाट शुरुवात भएको यो विकास निर्माणले गति लिएमा आगामी दिनमा नेपालको भौतिक पुर्वाधार निर्माणमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने वातावरण निर्माण हुने विश्वास कतिपयले व्यक्त गरेका छन।

तर यो सुरुङ्गमार्गको चर्चासंगै विगतमा सरकारले काठमाण्डौं निंजगढ 'फास्ट ट्र्याक' भनि अघि सारेको अर्को विशाल पूर्वाधार योजना भने सेलाएको देखिएको छ।