दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व चुनौतिपूर्ण

  • 5 अक्टोबर 2014
नेपाली महिला
Image caption सुरक्षित मातृत्वको निम्ति अभियान चलेपनि त्यसबाट दुर्गम गाउँका महिलाहरु अझै लाभान्वित हुन सकेका छैनन्

नेपालले सुरक्षित मातृत्वको क्षेत्रमा प्रगति गरिरहेको भएपनि हिमाली र दुर्गम पहाडी भेगका आमाहरुको व्यथा अर्कै छ।

ताप्लेजुङको ओलाङचुङगोला जस्ता दुर्गम हिमाली गाउँवस्तीका महिलाहरु अझै पनि असुरक्षित ढंगले घरमै सुत्केरी हुन वाध्य छन्।

स्वास्थ्य चौकी र अस्पताल उनीहरुको पहुँच भन्दा धेरै टाढा छ।

सहस्राव्दी विकास लक्ष्य अन्तरगत सन् १९९० देखि २०१५को बीचमा मातृ मृत्यु दरलाई दुई तिहाइले घटाउने लक्ष्य नेपालले लिएको छ।

सुगम ठाउँहरुमा मातृत्व सुरक्षित हुने क्रममा रहेको अधिकारीहरु बताउछन्।

ताप्लेजुङको उत्तरी भागमा पर्ने ओलाङचुङगोलाका महिलाहरुले डाक्टर र अस्पतालको अनुहार देख्न सकेका छैनन्।

उनीहरु भन्छन्, “महिलाहरु सुत्केरी हुनु अघि भगवानको प्रार्थना गर्ने चलन छ, तर स्वास्थ्य सेवा दुर्गम गाउँसम्म नपुगेकोले कहिलेकाहीं मानिसको ज्यान जाने गरेको छ।”

भौगोलिक विकटता

लेलेप गाउँकी निमा फुटी शेर्पा भन्छिन्, “राम्रोसँग सुत्केरी हुन आमालाई सदरमुकामसम्म पुर्याउनु पर्छ, तर त्याहाँ पुग्न चार पाँच दिन लाग्छ र मानिसहरुले महिलालाई बोकेर लैजानु पर्छ।”

त्यस क्षेत्रका महिलाहरु प्राय घर-घरमै सुत्केरी हुने गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष जिल्लामा दुई महिलाले सुत्केरी हुन नसकेर ज्यान गुमाएका थिए।

सो कार्यालयको तथ्याङ्क अनुसार आधाजसो महिला घरमैं सुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् भने अरु बर्थीङ सेन्टर पुग्ने गरेका छन्।

पचास गाविस रहेको ताप्लेजुङमा १२ ठाउँमा मात्र सुरक्षितरुपमा सुत्केरी गराउने बर्थीङ सेन्टरहरु रहेका छन्।

कतिपय गाउँमा महिलालाई बर्थीङ सेन्टर पुग्न अत्यन्तै लामो समय हिड्नु पर्ने अवस्था छ।

कार्यालय प्रमुख सूर्यबहादुर गुरुङका अनुसार भौगोलिक विकटताका कारण दुर्गम भेगका महिला सुरक्षित मातृत्वको सेवाबाट बञ्चित भएका छन्।

उनले भने, “प्रत्येक गाउँमा बर्थीङ सेन्टर हुनु पर्छ, त्यसो भए मात्र वर्तमान अवस्थामा सुधार हुन्छ।”

सुरक्षित मातृत्वको निम्ति केन्द्रमा योजनाहरु बनिरहेको भएपनि त्यसबाट दुर्गम गाउँका महिलाहरु लाभान्वित हुन सकेका छैनन्।