'आन्दोलनको धम्कीको चर्को आलोचना'

  • 7 अक्टोबर 2014
Image caption स्वर्गीय वीपी कोइरालाले शुरु गरेको चियापानलाई नेपाली कांग्रेसले अझै निरन्तरता दिँदै आएको छ।

सहमति विना संविधान निर्माणमा अघि बढे आन्दोलन गर्ने भनि एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुको मोर्चाले दिएको धम्कीको सत्तारुढ दलहरुले चर्को आलोचना गरेका छन्।

नेपाली काँग्रेस र एमालेका नेताहरुले सहमतिको प्रयास भइरहेका बेला मोर्चा बन्दी गर्दा ध्रुवीकरण हुने र संविधान लेखन संकटमा पर्ने चेतावनी दिएका छन्।

तर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको आन्दोलन संविधान निर्माणलाई सघाउनकै लागि भएको प्रतिक्रिया दिएका छन्।

चियापान

नेपाली काँग्रेसले दशैं लगायतका चाडबाडको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रमको दिन र संविधानका विवादित विषयहरुमा सहमति जुटाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई दिइएको समयावधि सकिने दिन एकै परेको थियो।

चियापानमा सहभागी भएका विभिन्न दलका नेताहरुले आत्मीयतापूर्वक शुभकामना साटासाट गरे र हाँसो मजाक सँगै चियापान गरे।

त्यो दृष्य देख्दा लाग्दथ्यो, यी नेताहरुका बीचमा कुनै कुरामा पनि विमति र मनमुटाव नै छैन।

तर जब पत्रकारहरुका माझमा उनीहरुले कुरा राख्न थाले, तब शुरु भयो एकले अर्का प्रति दोषारोपण गर्ने श्रृंखला।

एकीकृत नेकपा माओवादीसहितका दलहरुको मोर्चाले आन्दोलनको घोषणा गरेको प्रति काँग्रेस र एमालेका नेताहरु निकै आक्रोशित देखिएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनलाई संविधान भाँड्ने खेलको संज्ञा दिए।

उनले भने, “संविधान जारी हुन नदिने, संविधान नबनाउन निहुँ खोज्ने र ध्रुवीकरण गरेर संविधान निर्माणबिरुद्ध एउटा मोर्चाबन्दी गर्ने खालका प्रवृत्तिहरु देखिएका छन्, जुन उचित होइन।"

आयोजक भएकाले कार्यक्रमको अधिकांश समय सबैलाई हात जोड्दै शुभकामना दिन व्यस्त देखिएका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पनि सोमबार घोषणा गरिएको आन्दोलन प्रति असन्तुष्टि जनाउँदै तत्काल त्यसलाइ फिर्ता लिन आग्रह गरे।

चिन्ता

उनले भने ‍”अहिले फेरि आन्दोलनका लागि भनेर लाग्नु भएको छ। उहाँहरुलाई अनुरोध गर्दछु। सबै आन्दोलन फिर्ता गरेर छलफल गरौं। त्यसैबाट समाधान निस्किन्छ, निस्किन्छ।"

पत्रकारहरुसँग आफ्ना धारणारहरु राख्ने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि विवादित विषयमा सहमति जुटाउन प्रयासहरु भइरहेका बेला आन्दोलनले सहमतिको वातावरणलाई बिगार्ने धारणा राखेका थिए।

सत्ताधारी दलका नेताहरुको चर्को आलोचनापश्चात चियापानमा सहभागी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनका बारेमा गलत बुझाइ भएको भन्दै संविधान निर्माणलाई सघाउनकै लागि आफुहरुले आन्दोलनको घोषणा गरेको बताए।

उनले भने, “संविधान माघ ८ गते भित्र बनाउने उद्देश्यको निम्ति त्यो केन्द्रित छ। अहिले मानिसहरुले सोचे जस्तो यो अर्कोतिर जानको लागि हैन। सहमतिबाट भड्किन खोज्छ कि हिजोका सम्झौताको मर्मबाट भडकिन्छ भन्ने चिन्ताको साथ गरिएको छ।"

एक अर्का प्रति त्यस्ता धारणा राख्दा राख्दै ३ वटै दलका प्रमुख नेताहरुले माघ ८ मै संविधान जारी हुने कुरामा ढुक्क रहन सबैलाई आग्रह गर्न भने छोडेनन्।