मस्यौदा समिति लगभग कामविहिन

  • 9 अक्टोबर 2014
Image caption संविधानको पहिलो मस्यौदा असोज मसान्तसम्म तयार गरिसक्नुपर्ने कार्यतालिकामा उल्लेख छ

जनतामा सुझाव संकलनका लागि लैजाने संविधानको पहिलो मस्यौदा तयार गर्ने समयसीमा सकिन एक हप्ता बाँकि रहँदा संविधानसभाको संविधान मस्यौदा समिति काम विहिन हुने अवस्थामा पुगेको समितिका सदस्यहरुले बताएका छन्।

संविधानका आधारभूत विषयमा प्रमुख दलहरुबीच रहेको विमति संविधानसभामा नै अड्किएर बसेपछि मस्यौदा समितिको काम प्रभावित भएको हो।

संविधानसभाको पूर्ण बैठकले सबै विषय टुंग्याएर निर्देशन सहितको प्रतिवेदन पठाएपछि पनि पहिलो मस्यौदा लेखिसक्न झन्डै एक महिना लाग्ने समितिका एकजना सदस्यले बीबीसीलाई बताएका छन्।

संविधान मस्यौदा समितिले गएको जेठमा नै विषयगत रुपमा मस्यौदा तयार गर्न ५ वटा उपसमिति बनाएको थियो।

कामविहिन

संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले अहिलेसम्म टुंग्याएका सामान्य प्रकृतिका भावी संविधानका विषयवस्तुहरुका आधारमा ती उपसमितिले आफ्ना प्रारम्भिक प्रतिवेदनहरु तयार पारिसकेका छन्।

तर संविधानका मूलभूत विषयबारे दलहरु टुंगोमा नपुग्दा आफ्ना आंशिक प्रतिवेदन तयार पारेका उपसमितिहरु काम विहिन भएका छन्।

कार्यपालिका उपसमितिका संयोजक एवं एकीकृत माओवादीका नेता हितराज पाण्डे भन्छन् शासकिय स्वरुपका बारेमा दलहरु निर्णयमा नपुग्दा उपसमिति कामविहिन भएको छ।

“सहमति भएर आएका जति बिषयबस्तु थिए त्यसमा हाम्रो उपसमितिले छलफल गरेर निर्णय गरेर आफ्नो प्रतिवेदन बुझाइसकेको छ, हाम्रो उपसमितिसँग अहिले कुनै पनि काम छैन, मुख्य विषयवस्तु शासकिय स्वरुप नआएको हुनाले हाम्रो प्रतिवेदन आंशिक प्रतिवेदन हो।”

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, प्रस्तावना र मौलिक अधिकार तथा राज्यका निर्देशक सिद्धान्त उपसमितिले प्रस्तुत गरेका आंशिक प्रतिवेदनलाई मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौला नेतृत्वको एकीकृत मस्यौदा कार्यदलले अन्तिम रुप दिने कोशिश अहिले दिनहुँ छलफल गरिरहेको छ।

तर संविधानका विषयवस्तुहरु एक अर्कासँग अन्तरसम्बन्धित हुने र कैयौं विषयहरु अझै टुंगिन बाँकि रहेकाले अहिलेकै स्थितिमा मस्यौदा लेखन अघि बढाउन जटिल हुने नेताहरुको भनाई छ।

थप समय

संविधानसभाले सबै विषय टुँग्याएर समितिमा पठाएपछि पनि मस्यौदा लेखन पुरा गर्न झन्डै एक महिना लाग्ने न्यायपालिका अन्तर्गतको उपसमितिका संयोजक एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले बताए।

उनले भने, “भोली कतिपय सहमति भएर आएका बिषयले फेरि अहिले गरेको मस्यौदालाई पनि पुनर्लेखन गर्नुपर्ने हुन्छ, सबै बिषय टुँगिएर जति चाँडो आएपनि मस्यौदा गर्न एक महिना लाग्छ।”

संविधान मस्यौदा समितिले असोज मसान्तको पहिलो मस्यौदा तयार गरिसक्ने समयसीमा भित्र अहिलेसम्म सहमति भएका विषयवस्तुमा मस्यौदा तयार गरिसक्ने जनाएको छ।

पछिल्लो गतिरोधले कथंकदाचित दलहरुले माघ ८ गतेकै समयसीमामा संविधान जारी गरेभनेपनि नयाँ संविधानका बारेमा जनताको रायसुझाव संकलन लगायत बाँकि कार्यसूचीका लागि तोकिएको समयसीमा निकै छोट्ट्याउनुपर्ने अवस्था आएको जानकारहरु बताउँछन्।