'बजेटको अभावमा इबोला विरुद्ध जुझ्न कठिन'

  • 13 अक्टोबर 2014
तस्वीर कपीराइट PA
Image caption पश्चिम अफ्रिकामा मात्रै इबोलाका कारण मर्नेको संख्या चार हजार नाघेको छ

पश्चिम अफ्रिकामा विकराल रुप लिएको प्राणघातक इबोला भाइरसको संक्रमण केही पश्चिमा देशमा समेत देखिएपछि त्यससंग जुध्न नेपालमा अहिले भइरहेको तयारी पर्याप्त नभएको भन्दै चिन्ताहरु व्यक्त भएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न सीमा नाकामा स्थापना गरिएका स्वास्थ्य जाँच डेस्कका लागि माग गरिएको बजेट हालसम्म पनि नपाउँदा पर्याप्त सावधानीहरु अपनाउन नसकिएको इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखले बताए।

पश्चिम अफ्रिकामा चार हजारभन्दा बढी मानिसहरुको ज्यान लिइसकेको इबोला, कडा निगरानीका बाबजुद पनि अमेरिकामा देखिएपछि संसारभर थप चिन्ताहरु सार्वजनिक भएका छन्।

आवश्यकता

पश्चिम अफ्रिकामा इबोला देखिएपछि त्यसको खतरासंग जुध्न भन्दै नेपालमा दुई महिनाअघि अन्तर्राष्ट्रिय विमानस्थल र भारतसंगको आधा दर्जनजति सीमा नाकामा जाँच डेस्कहरु खडा गरिएको हो।

तर पर्याप्त पूर्वाधार नहुंदा प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीहरु नै स्वीकार्छन्।

जाँच डेस्कको नियमित कामका लागि उतिबेलै ५ करोड रुपैयां बजेट माग गरिएपनि अहिलेसम्म निकासा नभएको र आफ्नै पहल तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा हाल काम भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनीले बताए।

उनले भने,“पाँच करोड रुपैयाँ माग गरे पनि प्रकृया अघि बढेको छैन। बजेट उपलब्ध भएको भए हामीले धेरै काम गर्न सक्ने थियौं। इबोलाको संक्रमणको शंका भएको मान्छेलाई अहिले प्रयोग गरिरहेको एम्बुलेन्सको साटो छुट्टै प्रयोग गर्नुपर्छ। यसका विभिन्न पाटाहरुको अध्ययन हुदै गएकाले वजेटको आवश्यकता झन् बढ्दै गएको छ।”

खतरा

Image caption इबोला नियन्त्रणका लागि विभिन्न देशका विमानस्थलहरुमा स्वास्थ्य जाँचलाई कडा बनाईएको छ

विमानस्थल र सीमा नाकाहरुमा गरी अहिलेसम्म शंकास्पद करिब एक हजार यात्रुको परीक्षण गरिसकेको तर उनीहरु कसैमा इबोलाको संक्रमण नभेटिएको उनले बताए।

सीमित स्रोत भएपनि इबोला पत्ता लगाउन जरुरी यात्रुको तापक्रम नाप्ने लगायतका नियमित जांचहरु भइरहेकाले आत्तिहाल्नु नपर्ने तर पछिल्लोपटक पश्चिम देशहरुमा समेत यो संक्रमण देखिएपछि बढी सजगता अपनाउनुपर्ने आवश्यकता रहेको मरासिनीले बताए।

उनले भने, “नेपालमा अहिले नै आत्तिनु पर्ने अवस्था छैन तर अमेरिका र स्पेनमा जसरी अफ्रिकाबाट विरामीहरु फुत्केर गए त्यो कारणले अलिकति खतरा बढेको हो कि भन्ने हामीलाई लागेको छ।”

त्यस्तो खतरासँग जुध्न अन्तर्राष्ट्रिय विमानस्थलमा थप कडाइ गर्नुका साथै थप सीमा नाकाहरुमा जाँच केन्द्रहरु स्थापना गरिनुपर्ने विज्ञहरुको सुझाव छ।