बाजुराको कोल्टी र डोल्पामा चामल अभाव

  • 14 अक्टोबर 2014
Image caption भातमा निर्भर हुन थालेपछि पहाडी जिल्लामा चामल अभाव हुने गरेको कतिपय विज्ञहरु बताउँछन्

सशस्त्र द्वन्द्व सकिएको नौं वर्ष बित्न लाग्दा समेत पश्चिमी पहाडी जिल्लाहरुमा द्वन्द्वका बेला विस्थापन भएका खाद्य संस्थानका अधिकांश डिपोहरु सञ्चालन हुन नसक्दा बेला-बेला विभिन्न जिल्लाहरुमा चामलको अभाव हुने गरेको छ।

अहिले त्यस्तै समस्या बाजुराको कोल्टी र डोल्पामा देखिएको छ।

त्यहाँका डिपोहरुमा हाल गहुँ भण्डारमा रहेको र चामल केही दिनमै पुग्ने खाद्य संस्थानले जनाएको छ।

नेपाल खाद्य संस्थानका देशभर ६५ वटा खाद्य डिपोहरु थिए।

सहुलियत

जहाँबाट सरकारले उपलब्ध गराउने सहुलियत दरको चामल ग्रामीण बस्तीका मानिसहरुसम्म सजिलै पुग्ने गर्दथ्यो।

तर दश वर्षे सशस्त्र द्वन्द्वका कारण ती सबै डिपोहरु जिल्ला सदरमुकाममा खुम्चिए।

जसका कारण सरकारले अनुदानमा दिने चामल लिन सदरमुकाममै पुग्नुपर्ने बाध्यताको सुरु भएको थियो।

जुन सशस्त्र द्वन्द्वको सकिएको ९ वर्ष पुग्न लागि सक्दा पनि अन्त्य हुन सकेको छैन्।

सबैभन्दा बढी खाद्यान्न समस्या देखिने मध्य र सुदूर पश्चिमका डोल्पाको जुफाल र बाजुराको कोल्टी बाहेकका अन्य सबै ठाँउका डिपो हालसम्म कर्मचारीविहीन रहेको खाद्य संस्थान क्षेत्रीय कार्यालय सुर्खेतका निमित्त प्रमुख नारायण सिंह केसीले बताए।

उनले भने, “कोल्टी र जुफालमा कर्मचारीको व्यवस्था छ। द्वन्द्वकालमा हटेका अन्य कुनै पनि ठाँउमा हामीले कर्मचारी राख्न सकेका छैनौं।”

हाल ती डिपो भएका भनिएका क्षेत्रका मानिसहरुले एकमुष्ट पैसा जम्मा गरेर सदरमुकाममा रहेको शाखा कार्यालयमा दिएपछि मात्रै खाद्यान्न पुर्याउने जिम्मा लिएका ठेकेदारले चामल पुर्याइदिने गरेका छन्।

प्राथमिकता

डिपोहरु स्थापना गरेरै सम्बन्धित ठाँउबाटै वितरण गर्न प्रयास गरिरहे पनि कर्मचारीको अभावले त्यो असम्भव भएको खाद्य संस्थान केन्द्रिय कार्यालयका प्रवक्ता नवराज उपाध्यायले बताए।

उनी भन्छन्, “कर्मचारीको अभावपूर्ति भईसकेपछि हामी ती डिपो सञ्चालनलाई पहिलो प्राथामिकता दिन्छौं।”

हाल पश्चिम नेपालका अन्य जिल्लाको सदरमुकाममा रहेका शाखा कार्यालयहरुमा खाद्यान्न रहेको छ।

तर बाजुराको कोल्टी र डोल्पामा भने चामल नभएको बताईएको छ।

जसका कारण दैनिक मानिसहरु चामल नपाएर फर्किनुपरेको जनाईएको छ।

बानी परिवर्तन

तर तिनै डिपोहरुमा रहेको गहुँ भने कसैले लिन नखोजेपछि वितरण नभएको प्रवक्ता उपाध्यायले बताए।

मानिसहरुको भात खाने बानीमा परिवर्तन ल्याउन नसके यस्तो समस्या सँधैलाई रहिरहने उनको भनाई छ।

जनस्वास्थ्य विद् डा. अरुणा उप्रेतीले धान नफल्ने मध्य र सुदूर पश्चिमका पहाडी र हिमाली जिल्लाका मानिसले कोदो, फाफर, उवा जस्ता स्थानीय उत्पादनलाई प्राथमिकता नदिनाले समस्या देखिएको बताउँछिन।

विगतमा स्थानीय खाद्यान्नमा निर्भर ती जिल्लाका मानिसहरुले पछिल्ला वर्षहरुमा सरकार र दाताले बाँडेको चामलमा बढी भर पर्न थालेपछि सो क्षेत्रको खाद्य सुरक्षाको स्थिति जटिल बन्दै गएको हो।