‘बेमौसमी वर्षाले धानबालीमा क्षति पुग्छ’

  • 15 अक्टोबर 2014
तस्वीर कपीराइट bbc
Image caption ढिलो गरी रोपाईं भएको यथार्थबीच बेमौसमी वर्षाले कृषकहरुलाई थप चिन्तित बनाएको छ

दक्षिणी छिमेकी देश भारतमा आएको सामुन्द्रिक आँधी हुदहुदका कारण केही दिनयता देशभर भईरहेको बेमौसमी वर्षाले धानबालीमा केही हदसम्म क्षति पुर्याउन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

दशैं सकिएर तिहारको प्रतीक्षा भईरहेको शरद ऋतुको यो समयमा पहाडका कतिपय किसानहरुलाई धानबाली भित्र्याउने चटारो हुने गर्छ।

वर्षा कुन स्तरसम्म हुन्छ भन्ने विषयले धानबालीमा पर्ने असरको मात्रा थाहा लाग्ने विज्ञहरुको भनाई छ।

यद्यपि अहिलेको पानीले हिउँदेबालीलाई भने सघाउने उनीहरुले बताएका छन्।

अप्रत्यासित

देशभर कतै धानबाली काट्ने काम भईरहेको र कतै धान काट्नका लागि तयारी भईरहेको बेला आइलागेको यो वर्षाले कृषकहरु अन्यौलमा परेका छन्।

अहिले भईरहेको वर्षा अझै केही दिनसम्म जारी रहेमा धानबालीमा असर गर्ने कृषिविज्ञ हरि दाहाल बताउँछन्।

उनी भन्छन्, “धानलाई यो पानीले फाईदा गर्दैन। धान फलेको बेला भएकोले यसलाई क्षति नै गर्दछ।”

लगातारको पानीले खेतमै रहेको धान ढाल्ने, असिना पर्ने लगायतका समस्या ल्याउन सक्ने उनको भनाई छ।

सबैभन्दा बढी असर काटिसकेको धानलाई गर्ने उनी बताउँछन्।

हिउँदेबाली

पानी कति दिनसम्म पर्छ र कतिको मात्रामा पर्छ भन्ने कुराले क्षतिको आंकडा फरक पर्ने उनी बताउँछन्।

अहिले भइरहेको वर्षाले हिउँदेबालीलाई भने फाईदा पुर्याउने कृषि मन्त्रालयका सहसचिव उदयचन्द्र ठाकुरले बताए।

उनले भने, “सकारात्मक के भयो भने अहिले परेको पानीले गर्दा माटोमा हुने चिस्यान रहिंरहन्छ, जसले हिउँदेबालीलाई सहयोग पुर्याउँछ।”

केही महिना पहिले देशका कतिपय भागमा आएको बाढीले धान उत्पादमा कमी ल्याउन सक्ने अनुमान गरिएका बेला फेरी लगातार भईरहेको वर्षाले कृषकहरुको चिन्तालाई थप बढाइदिएको छ।