हिमपातमा परेका सयभन्दा धेरैको उद्दार

  • 16 अक्टोबर 2014
नेपाली सेनाद्वारा उद्दार तस्वीर कपीराइट Nepal Army
Image caption हिमपातमा परेकाहरुको उद्दारकार्य समन्वय गर्न एक टोली गठन गरिएको अधिकारीहरुले बताएका छन्

पश्चिम नेपालको मुस्ताङ्ग, मनाङ्ग र म्याग्दी जिल्लामा आएको भीषण हिमपात र हिमपहिरोमा परेकाहरु मध्ये एक सय जनाभन्दा बढीको उद्दार गरिएको अधिकारीहरुले जनाएका छन्।

हालसम्म मुस्ताङ्गमा मात्र कम्तिमा १२ जनाको ज्यान गएको पुष्टी भएको छ। अन्य कयौं हराइरहेका छन्, जसमध्ये कतिपयको ज्यान गएको आशंका गरिएको छ।

विहिबार बिहानैदेखि नेपाली सेना र निजिक्षेत्रका हेलिकप्टरहरुले खोजी कार्य जारी राखेका छन्।

पर्यटन मन्त्रालयले २१ जना घाइतेहरुलाई उद्दार गरेर जोमसोम ल्याइएको र ८१ जनालाई मनाङ्गको हुम्दे विमानस्थलमा ल्याइएको जानकारी दिएको छ।

अन्नपूर्ण पदयात्रामार्गमा हिमपातमा फसेकाहरुको उद्दार कार्यको संयोजन गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा आपतकालीन केन्द्र सञ्चालंनमा ल्याएको छ।

उद्दार

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जोमसोममा उपचार गरिरहेका १४ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।

“उद्दार गरिएकोमा केही जर्मन र इजरेली नागरिक पनि छन्, विस्तृत विवरण अझै आउन बाँकि छ।”

थोरोङ्ग ला पास क्षेत्रको उद्दार कार्य तीव्र हावाहुरीका कारण रोकिएको र त्यहाँ पैदल र हवाई मार्गबाट नेपाली सेना जान नसकिरहेको पर्यटन मन्त्रालयले जनाएको छ।

बुधबारसम्म ८ जना हराइरहेको बताईएको मनाङमा आज थप २ जना भारतिय नागरिक हराईरहेको सूचना आएको त्यहाँका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताए।

उनका अनुसार फु र नार क्षेत्रमा बेपत्ता भएका भनिएका ती १० जनाको खोजीमा बिहान देखी नै हेलिकप्टर परिचालन भईरहेको छ।

धौलागिरी बेस क्याम्पमा हराएका ५ जना हिउँमा पुरिएको अवस्थामा देखिएको र उनीहरुलाई त्यहाँबाट निकाल्ने प्रयास भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए।

उनीहरु जीवित नभएको हुन सक्ने आशंका गरिएको उनले बताए। त्यहाँ अलपत्र भएका १० जना स्लोभाकियन र ३ जना नेपाली नागरिकमध्ये बुधबार ८ जनाको मात्र उद्धार भएको थियो।

मुस्ताङ्ग, मनाङ्ग र म्याग्दी तीनै जिल्लामामा कति मानिसहरु हराईरहेका छन भन्ने पूर्ण विवरण भने प्राप्त हुन सेकेको छैन।

पर्यटन मन्त्रालय र पर्यटनसँग सम्बद्ध संघसंस्थाहरु समेतले आधिकारिक कुनै आंकडा दिन सकिरहेका छैनन्।