'हिमपातमा ज्यान गुमाउनेको संख्या २८'

  • 16 अक्टोबर 2014
उद्धार गरिंदै
Image caption अहिलेसम्म झन्डै दुई सय जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् (फोटो साभार: नेपाली सेना)

अन्नपूर्ण र आसपासको क्षेत्रमा भएको भीषण हिमपातमा ज्यान गुमाउनेको संख्या २८ पुगेको अधिकारीहरुले बताएका छन्।

अहिलेसम्म झन्डै दुई सय जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।

उद्दार गरिएका व्यक्तिहरु मध्ये केहीको राजधानी र अधिकांशको जिल्लाहरुकै अस्पतालमा उपचार भैरहेको अधिकारीहरुले बताएका छन्।

हिमपातका कारण धौलागिरी हिमाल वरपरको क्षेत्र पनि नराम्ररी प्रभावित भएको पाइएको छ।

ठूलो क्षति

बुधबार हिमपातका कारण सबैभन्दा बढी क्षति मुस्ताङ जिल्लामा भएको विवरणहरु आएपनि बिहीबार नजिकैको मनाङ जिल्लापनि उक्त विपत्तिबाट नराम्ररी प्रभावित भएको पुष्टि भएको छ।

पछिल्लो उद्धार कार्यको संयोजन गरिरहेका अधिकारीहरुका अनुसार मनाङ जिल्लाका उच्च हिमाली भेगहरुबाट १ सय ३० जनाको उद्धार गरिएको छ।

हिमपात प्रभावित नार र फू गाविसमा ५ जना क्यानडेली, ३ भारतीय र ३ नेपाली सहित ११ जनाको शव प्राप्त भएको पर्यटन मन्त्रालयले जनाएको छ।

बुधबार ४ जनाको ज्यान गएको मुस्ताङको थोरोङ्गला पास देखि मुक्तिनाथ सम्मको पदयात्रा मार्गबाट बिहीबार २१ जनालाई उद्धार गरी जोमसोम ल्याइएको र एक नेपाली सहित आठ जनाको शव पाइएको थियो।

धौलागिरी हिमाल आसपासका क्षेत्रमा गरिएको खोजमा २ स्लोभाक सहित ५ जनाको शव फेला परेको बताइएको छ।

यो सँगै पछिल्लो भीषण हिमपातका कारण ज्यान गुमाउनेहरुको संख्या २८ पुगेको पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्वमा भैरहेको आपतकालिन उद्धार कार्यको संयोजन गरिरहेका सहसचिव सुरेश आचार्यले बीबीसीलाई बताए।

उनले भने, “बुधबार प्राप्त चार वटा शवका अतिरिक्त बिहीबार उद्धारकार्यमा खटिएका टोलीहरुले फेला पारेका शवहरुको संख्या जोडेपछि मृतकहरुको संख्या २८ पुगेको छ।”

चुनौतिपूर्ण

निजी क्षेत्रका सहित १० वटा भन्दा बढी हेलिकप्टर परिचालन गरेर अघि बढाइएको दोस्रो दिनको खोजी कार्य सकिँदा उद्धार कार्य अझै निक्कै चुनौतीपूर्ण देखिएको अधिकारीहरुले बताएका छन्।

धौलागिरी हिमाल आसपास निरीक्षण गरेको हेलिकप्टरले घाँटी घाँटीसम्म हिउँ भएको सूचना दिएको र केही पालहरु हिउँमा दबेको अवस्थामा देखेको सहसचिव आचार्यले बताए।

झन्डै साढे ५ हजार मिटरको उचाइमा रहेको थोरोङ ला पास र आसपासको क्षेत्र पछिल्लो हिमपातबाट सबैभन्दा बढी प्रभावित भएको ठानिएको भएपनि मौसमले साथ नदिँदा त्यहाँ उद्धार कार्य सोचे अनुरुप अघि बढ्न नसकेको अधिकारीहरुको भनाइ छ।

पर्यटन मन्त्रालयका सहसचिव आचार्यले उक्त क्षेत्रमा पैदल मार्गबाट सैनिकहरु पठाउन नसकिएको र एक पटक बाहेक हेलिकप्टरले उद्धार कार्य अघि बढाउन नसकेको बताए।

अधिकारीहरुले मृतकको शव संकलन बाहेक मनाङ जिल्लामा लगभग उद्धारको कार्य पुरा भएको र शुक्रवारदेखि थोराङ्ग ला पास र धौलागिरी हिमालको आसपासमा केन्द्रित रही खोजी कार्य अघि बढाइने बताएका छन्।