‘थप अफ्रिकी मुलुकमा इबोला रोक्ने प्रयास’

  • 17 अक्टोबर 2014
तस्वीर कपीराइट
Image caption अरु अफ्रिकी मुलुकमा इबोला फैलिन नदिनु आवश्यक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ

इबोला भाइरसबाट सबैभन्दा बढी प्रभावित लाइबेरिया, सियरा लियोन र गिनीमा नियन्त्रण प्रयास जारी राख्दै ती मुलुकसँग जोडिएका अन्य अफ्रिकी मुलुकहरुमा उक्त भाइरस फैलिन नदिनका लागि आवश्यक कदम चाल्न लागिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

त्यसका लागि १५ वटा अफ्रिकी मुलुकहरुलाई प्राथमिकतामा राखिएको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा सो संगठनकी एकजना उच्च अधिकारीले बताइन्।

इबोला भाइरसको संक्रमणबाट जोगिन र सावधानी अपनाउन ती मुलुकहरुले थप सहयोग पाउने संगठनका अधिकारीहरुले बताएका छन्।

संगठनकी इसाबेल नटलले लाइबेरिया, सियरा लियोन र गिनीमा तीव्र गतिमा इबोला भाइरसको संक्रमण फैलिरहेको बताइन्।

तथ्याङ्क

गिनीको राजधानी कोनार्की र सियरा लियोनको राजधानी फ्रीटाउनमा उक्त भाइरसको संक्रमण अति तीव्र देखिएको उनले जनाइन्।

तथ्याङ्क संकलनसम्बन्धी समस्याका कारण लाइबेरियाको राजधानी मीनरोभियाबारे निष्कर्ष निकाल्न गाह्रो भएको उनको भनाई थियो।

नटलले भनिन्, “यसले स्वास्थ्यकर्मीहरुलाई नराम्ररी आक्रमण गरिरहेको छ। प्रत्येक चार सातामा संक्रमित हुनेहरुको संख्या दुई गुणाले बढिरहेको हाम्रो तथ्याङ्कले देखाएको छ।”

तस्वीर कपीराइट EPA

लाइबेरियाको लोफा जिल्लामा भने इबोला भाइरसबाट संक्रमित हुने मानिसहरुको संख्यामा कमी आएको उनले बताइन्।

निराश

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानले इबोला भाइरसको महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायले गरिरहेको कामबाट आफू निकै निराश भएको बताएका छन्।

बीबीसीसँगको एउटा अन्तरवार्तामा उनले धनी मुलुकहरु तीव्र गतिमा अगाडि बढ्नुपर्ने बताए।

अन्नानले भने, “उक्त संकट अरु क्षेत्रमा आएको भए त्यससँग अर्कै तरिकाले जुझिन्थ्यो होला।”

विश्व स्वास्थ्य संगठनका अनुसार इबोला भाइरसको संक्रमण अहिले पुरै सियरा लियोनमा देखिएको छ।