'हंगकंग प्रशासनले प्रदर्शनकारीसँग वार्ता गर्ने'

  • 18 अक्टोबर 2014
तस्वीर कपीराइट AFP
Image caption आन्दोलनको क्रममा २६ जना पक्राउ परेको बताइएको छ।

हंगकंग प्रशासनले आन्दोलनमा उत्रिएका विद्यार्थीहरुसंग आगामी मंगलबार वार्ता गर्ने घोषणा गरेको छ।

प्रशासनकी एक जना उच्चअधिकारी केरी ल्यामले उक्त वार्तामा दुवै पक्षले पाँच, पाँच जना प्रतिनिधि पठाउने बताइन्।

वार्ता दुई घण्टाको हुने र टिभीमा त्यसको प्रत्यक्ष प्रसारण समेत गरिने जनाइएको छ।

प्रजातन्त्र समर्थक प्रदर्शनकारी र प्रहरीबीच ताजा झडपहरु भइरहंदा हंगकंग प्रशासनबाट त्यस्तो घोषणा आएको थियो।

सचेत

झडपका बाबजुद झण्डै ९ हजार प्रदर्शनकारीहरु मोंग कोक क्षेत्रमा यसअघि आफूहरुले ओगटेको स्थानमा फर्किएका थिए।

सन् २०१७ मा हंगकंगको प्रमुख नेताका लागि हुन लागेको चुनावमा उम्मेदवारहरु स्वतन्त्र रुपले चयन गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शनकारीहरु केही सातायता शहरका विभिन्न भाग ओगटेर बसिरहेका छन्।

प्रदर्शनकारीहरुको पछिल्लो व्यवहार शान्तिपूर्ण नभएको र त्यसले सार्वजनिक सुरक्षालाई खलल पु-याउने भन्दै हंगकंग प्रहरीले सचेत पनि गराएको छ।

तथापि वार्ताको पछिल्लो घोषणाले केही सातायता जारी गतिरोधलाई केही मत्थर पार्ने ठानिएको छ।

तर यसै साताको पूर्वार्द्धमा प्रदर्शनकारीहरु शहरका सडकहरु ओगटेर बसेपछि हंगकंग प्रशासनले पूर्वनिर्धारित वार्ता स्थगन गरेको अनुभव रहेकाले अझै आशंका भने टरि नसकेको विश्वास गरिएको छ।