'समलिंगी सम्बन्धी प्रस्तावमा संसोधन हुनु निराशाजनक'

  • 19 अक्टोबर 2014
तस्वीर कपीराइट AP
Image caption प्रस्तावको पक्षमा दुई तिहाई नपुगेर संसोधन भएको हो

समलिंगीहरुप्रति उदार व्यवहार गर्नेबारेको प्रस्ताव धर्मगुरुद्वारा अस्वीकार गरिनुलाई क्याथलिक समलिङ्गी अधिकार समूहहरुले घोर निराशाजनक कदमको संज्ञा दिएका छन्।

इसाई धर्मगुरु पोप फ्रान्सिसको उक्त प्रस्ताव क्याथलिक धर्मसभामा दुई तिहाई मतको अभावमा पारित हुन नसकेको हो।

समलिंगी र सम्बन्ध विच्छेद गरेर पुन: विवाह गरेका क्याथलिकहरुप्रति व्यापक खुला र उदार व्यवहार गर्नु पर्ने प्रस्ताव गरिएको थियो।

संसोधन

पहिलो मस्यौदामा समलिंगीहरुमा इसाई समुदायलाई प्रदान गर्न सक्ने उपहार र गुणस्तर रहेको उल्लेख थियो।

संवाददाताहरुका अनुसार ति परिच्छेदले समर्थन पाउन सकेनन् र अन्तिम मस्यौदाबाट हटाइए।

त्यसको साटो समलिंगीहरुविरुद्ध हुने गरेका भेदभाव ‘हुनुहुँदैन’ भन्ने उल्लेख गरियो।

बीबीसी सम्वाददाता डेभिड विली भन्छन्, “समलिंगी अधिकारवादीले ठूलो उपलब्धीको रुपमा प्रशंसा गरेको प्रारम्भिक मस्यौदामा परिवर्तन गरियो। अन्तिम दस्तावेजमा समलिंगीहरुप्रति गरिने भेदभावपूर्ण व्यवहार हुन नदिने भन्ने प्रावधानमात्र राखिएको छ। यसबाट समलिंगी विवाहको बैधता चर्चले पूर्ण अस्वीकार गरेको प्रष्ट हुन्छ।”

पुरातनपन्थी

समलिंगीहरुको एउटा अमेरिकी संस्थाले भनेको छ, “धर्मसभाको अन्तिम रिपोर्टमा प्राम्भिक प्रस्तावमा राखिएको समलिंगीहरुप्रतिको उदार व्यवहार सम्बन्धी प्रावधान कायम नरहनु निकै निराशाजनक हो।”

अर्को समूह डिग्नीटी अमेरिकाले पनि त्यस्तै प्रतिकृया जनाएको छ।

मस्यौदा प्रस्तावका अन्य सबै अंशहरु धर्मसभाले स्वीकार गरेको छ।

पुरातनपन्थीहरुका कारण प्रस्ताव पारित हुन नसकेको बताइएको छ।

एपी समाचार संस्थाका अनुसार मतदानपछि पोप फ्रान्सिसले त्यसबारे व्यापक छलफल नभएको भए र सबै मौन र झुटो रुपमा शान्त बसेको भए त्यसले आफूलाई चिन्तित र दुखी बनाउथ्यो भन्ने धारणा सहभागीहरु समक्ष राखेका थिए।