'कुर्द लडाकुहरुलाई कोबानी जान दिइने'

  • 20 अक्टोबर 2014
कोबानीमा हातहतियार खसालिंदै तस्वीर कपीराइट US defence department
Image caption अमेरिकाले युद्धक विमानहरुबाट कुर्द लडाकुहरुकालागि हातहतियार खसालेको जनाएको छ

टर्कीका विदेश मन्त्री मेभ्लुत चाभुस्वलुले भनेका छन्, उनको मुलुकले सीमावर्ती नगर कोबानीमा इस्लामिक स्टेट उग्रवादीहरुसंग लडिरहेका कुर्द लडाकुहरुलाई सघाउन इराकी कुर्द पेशमर्गा लडाकुहरुलाई सिरिया जान दिनेछ।

उत्तरी सिरियाली नगर कोबानीमा अमेरिकाले हवाइ मार्गबाट कुर्द लडाकुहरुकालागि हातहतियार खसालेको भन्ने समाचार आउँदै गर्दा टर्कीले त्यस्तो घोषणा गरेको हो।

यसअघि टर्कीले कुर्द लडाकुहरुलाई आफ्नो सीमा पार गरेर उत्तरी सिरियाली नगर कोबानी जान दिन रोक लगाएको थियो।

विरोध

त्यसको विरोध गरिरहेका कुर्दहरुसंग प्रहरीको भीडन्त हुँदा कैयौं कुर्दहरुको ज्यान गएको थियो।

टर्कीका विदेश मन्त्री चाभुस्वलुले अब इराकी कुर्द लडाकुहरुलाई सीमा पार गरी कोबानी जान दिइने बताए।

उनले यसबारे वार्ता भैरहेको भन्दै थप विवरण दिएनन्।

टर्कीले गएको एक दशकदेखि कुर्द समुदायकालागि थप स्वायत्तता मागीरहेका कुर्द लडाकुहरुसंग भीडन्त गरिरहेको छ।

ती लडाकुहरुको कोबानी नगरलाई बचाउन इस्लामिक स्टेट जेहादीहरुसंग भिडीरहेका सिरियाली कुर्दहरुसंग पनि संबन्ध रहेको छ।

“टर्की कोबानीमाथि इस्लामिक स्टेट लडाकुहरुको नियन्त्रण होस् भन्ने चाहँदैन,” विदेश मन्त्री चाभुस्वलुले भने।

परिवर्तन

इस्तान्बुलस्थित बीबीसी संवाददाता मार्क लोवेन भन्छन्, टर्कीको पछिल्लो घोषणा आकस्मिक रुपमा आएको छ र यो एउटा महत्वपूर्ण नीतिगत परिवर्तन पनि हो।

यसैबीच ब्रिटिश विदेश मन्त्री फिलिप ह्यामण्डले हवाइ हमलाबाट मात्रै इस्लामिक स्टेट जेहादीहरुलाई पराजीत गर्न नसकिने बताएका छन्।

उनले भने, “हामीले सँधै के कुरा बुझेका छौं भने हवाइ अभियानले मात्रै इस्लामिक स्टेट विरुद्धको लडाईंलाई निर्णायक विन्दुमा पुराउन सकिंदैन। तर यो अभियानले उनीहरु अगाडि बढ्ने क्रमलाई रोकीदिएको छ र उनीहरुको सैनिक क्षमतालाई ह्रास गरीदिएको छ।“ यसअघि अमेरिकी सेनाले कोबानीमा इस्लामिक स्टेट जेहादीहरु विरुद्ध भीडन्त गरिरहेका कुर्द लडाकुहरुकालागि युद्धक विमानहरुबाट हातहतियार खसालिएको जनाएको थियो।

अमेरिकी सैन्य कमाण्डले उसले अक्टोबर महिनाको शुरु देखि कोबानी वरिपरि इस्लामिक स्टेट विरुद्ध १३५ भन्दा बढी हवाइ हमलाहरु गरेको र ती हमलामा सैयौ इस्लामिक स्टेट लडाकुहरु मारिएको जनाएको छ।

ती विवरणहरुको स्वतन्त्ररुपमा पुष्टि भैसकेको छैन।

रणनीतिक रुपले महत्वपूर्ण कोबानी नगरलाई नियन्त्रणमा लिन इस्लामिक स्टेट लडाकुहरुले गएको कैयौं सातादेखि भीडन्त गरिरहेका छन्। उक्त भीढन्तबाट ज्यान जोगाउन हजारौं सिरियाली कुर्दहरु सीमा पार गरी टर्की आएका छन्।