बोको हरामद्वारा थप महिलाको अपहरण

  • 23 अक्टोबर 2014
तस्वीर कपीराइट Reuters
Image caption गएको अप्रिलमा बोको हरामले अपहरण गरेका दुई सय छात्रा अझै रिहा भएका छैनन्

नाइजेरियाको उत्तरपूर्वी आडामावा राज्यबाट संदिग्ध लडाकुहरुले दर्जनौ महिला तथा बालिकाहरुको अपहरण गरेको त्यहांका स्थानीयवासीले बताएका छन्।

सरकारी अधिकारीहरुले भने यो घटनाको पुष्टि गरेका छैनन्।

इस्मलामवादी समूह बोको हरामका लडाकुहरुले गत अप्रिलमा अपहरण गरेका दुई सयभन्दा बढी स्कुले छात्राहरुलाई एउटा सम्झौता अन्तर्गत छाड्ने अपेक्षा भइरहेका बेला नयां घटना प्रकाशमा आएको छ।

नाइजेरियाको सेनाले बोको हरामसंग संघर्षविराम भएको घोषणा गरेको भोलिपल्टै उक्त घटना भएको हो।

अपहरण

उक्त संघर्षविराम अनुसार बोको हरामले आफ्नो कब्जामा रहेका दुईसयभन्दा बढी स्कुले छात्राहरुलाई छाड्ने अपेक्षा सरकारले गरेको छ।

तर बोको हरामले भने उक्त संघर्षविरामको पुष्टि गरेको छैन।

ती छात्राहरुको मुक्तिको अपेक्षा भइरहेका बेला फेरि अपहरणको नयां घटना सतहमा आएको छ।

नाइजेरियास्थित बीबीसी संवाददाता विल रोस भन्छन्, “हामीले सुनिरहेको विवरण के छ भने दर्जनौं महिला र बालिकाहरुलाई बोको हराम लडाकुहरुले घेरा हाली, लिएर गएका छन्।”

उक्त घटना गत शनिबार उत्तपूर्वी आडामावा राज्यमा भएको बताइएको छ।

लडाकुहरुबाट जोगिएर भाग्न सफल मानिसहरुले पछि फोनमार्फत उक्त जानकारी दिएको जनाइएको छ।

आडामावा, गत अप्रिलमा बोको हराम लडाकुहरुले २ सयभन्दा बढी स्कुले छात्राहरुलाई अपहरण गरेको राज्य बोर्नोसंगै जोडिएको छ।