‘क्यानाडाको राजधानी ओट्वामा तनाव’

  • 23 अक्टोबर 2014
तस्वीर कपीराइट Reuters
Image caption संसदभित्रै रहेका प्रधानमन्त्री स्टेफेन हार्परलाई तत्काल बाहिर निकालिएको थियो।

क्यानाडाको संसद हाताभित्र र एउटा युद्ध स्मृति स्थलमा भएका दुई वटा आक्रमणका घटनापछि राजधानी ओट्टवा अहिले तनावग्रस्त बनेको बताइएको छ।

एकजना बन्दुकधारीले ओट्टवास्थित एउटा युद्ध स्मृति स्थलमा एक सैनिकको गोली हानी हत्या गरेका छन्।

संसद हाताभित्र प्रहरीसँग दोहोरो गोली हानाहान भएपछि उक्त घटना भएको अधिकारीहरुले बताएका छन्।

प्रहरीले एकजना बन्दुकधारी मारिएको पुष्टि गरेको छ।

सतर्कता

अधिकारीहरुका अनुसार ओट्टवामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

प्रहरीले थप संदिग्धहरुको खोजी कार्य जारी राखेको जनाएको छ।

एउटा पत्रकार सम्मेलनमा प्रहरीले कारवाही भईरहेको र अवस्था तरल रहेको बताएको छ।

सो घटनापछि प्रधानमन्त्री स्टेफेन हार्परले आफूहरु त्रसित नहुने बताएका छन्।

उनले भने, “यो घटनाले हामीलाई अझ सुदृढ हुन र हाम्रा प्रयासलाई दुई गुणा पार्नेतर्फ लग्नेछ। हाम्रा राष्ट्रिय सुरक्षा निकायहरुलाई आक्रमणको सामना गर्नका निम्ति आवश्यक सबै कदमहरु चाल्नेतर्फ अघि बढाउनेछ।”

तस्वीर कपीराइट AFPGetty
Image caption संसद हाताभित्र भएको घटनापछि युद्ध स्मृति स्थलमा आक्रमण गरिएको बताइएको छ

क्यानाडाले आतंकको खतराको स्तर बढेको घोषणा गरेको केही घण्टापछि उक्त घटना भएको हो।

त्यसअघि इस्लाम धर्म अपनाएका एक व्यक्तिले सोमबार कारले ठक्कर दिएर एकजना सैनिकको हत्या गरेका थिए।

संलग्नता

यसै महिनाको सुरुतिर क्यानाडाले इस्लामिक स्टेट विद्रोहीविरुद्ध अमेरिकी नेतृत्वको हवाई आक्रमणमा संलग्न हुने योजना घोषणा गरेको थियो।

तर पछिल्ला घटनाहरु त्यससँग सम्बन्धित भएको अहिलेसम्म पुष्टि हुन सकेको छैन्।

नाम नखुलाइएका अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी र क्यानाडाका समाचार संस्थाहरुले मृत्यु हुने व्यक्ति माइकल जेहाफ बिबेउ रहेको जनाएका छन्।

राइफल बोकेका एकजना व्यक्तिले बुधबार विहान युद्ध स्मृति स्थलको सुरक्षा गरिरहेका सैनिकमाथि गोली चलाउँदा उक्त घटना भएको अधिकारीहरुले बताएका छन्।

त्यसको केही मिनेटपछि संसद भवनभित्र दर्जनौं फायरिङ्ग भएको एकजना सांसद मार्क गर्नेउले बताए।

घटनाका बेला प्रधानमन्त्री हार्परसहित केही मन्त्रीहरु र धेरै सांसदहरु संसद भवनभित्रै रहेको बताइएको छ।