'यसपालिको हिउँदमा १३ घण्टा लोडसेडिङ्ग'

  • 24 अक्टोबर 2014
तस्वीर कपीराइट Reuters
Image caption भारतबाट थप बिजुली आयातका लागि प्रसारण लाइनमा मर्मत पनि गर्नुपर्ने अधिकारीहरु बताउँछन्

भारतबाट थप विद्युत आयात गरिने तयारी भएपनि गत वर्षको जस्तै यसपालिको हिउँद याममा पनि दैनिक १३ घण्टासम्म लोडसेडिङ्ग हुन सक्ने नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

भारतबाट थप २ सय मेगावाट बिजुली आयात गर्ने तयारी भईरहेको प्राधिकरणका एक उच्च अधिकारीले बताए।

यस वर्ष कुनैपनि जलविद्युत आयोजनाबाट उत्पादन नथपिएकोले लोडसेडिङ्गमा कटौती हुन नसक्ने अधिकारीहरु बताउछन्।

विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार गतवर्ष हिउँदको समयमा १२ सय मेगावाट विद्युतको माग थियो।

उत्पादन

तर यस वर्ष उक्त माग बढेर साढे १३ सय मेगावाट पुग्ने उनीहरु बताउँछन्।

त्यसमाथि सुनकोशी नदीमा केही महिनाअघि गएको पहिरोका कारण ६८ मेगावाटको उत्पादन बन्द रहेको छ।

यस्तो अवस्थामा भारतबाट थप बिजुली आयात गरी गत वर्षकोभन्दा लोडशेडिङ्ग बढ्न नदिइने प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक रामचन्द्र पाण्डेले बताए।

उनले भने, “गत वर्ष जुन अधिकतम दैनिक १३ घण्टा लोडसेडिङ्ग थियो, त्यसमा हामीले बढ्न दिने छैनौं। भएको लोडसेडिङ्गलाई यथावत राख्ने र सकभर बढ्न नदिने हाम्रो प्रयास हुनेछ।”

गत महिना भएको सहमतिपछि भारतबाट पछिल्लो पटक थप ३७ मेगावाट विद्युत नेपाल आयात भईरहेको छ।

सकारात्मक

अधिकारीहरुका अनुसार थप बिजुली आयातका लागि भारतीय पक्षसँग कुराकानी भईसकेको छ।

र, त्यसका लागि उनीहरु सकारात्मक देखिएका छन्।

यद्यपि प्राविधिक कारणले एकैचोटी भने भारतबाट थप २ सय मेगावट बिजुली आयात गर्न सकिने अवस्था नरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन्।

पाण्डेले थपे, “२ सय मेगावाटसम्म हामीले आपूर्ति गर्न सक्ने स्थिति बनेको छ। तर २ सय मेगावाट एकैचोटी आपूर्ति नभएर करिब ७० मेगावाट नोभेम्बरको अन्त्यसम्ममा र बाँकी डिसेम्बरसम्म ल्याउने छलफल भएको छ।”

भारतीय पक्षसँग भएको छलफल अनुसार थप बिजुली आएपछि आयात बढेर ३ सय ९० मेगावाट पुग्नेछ।