बस दुर्घटनामा १४ जनाको मृत्यु

  • 24 अक्टोबर 2014
Image caption पहाडी जिल्लाहरुका कच्ची सडकहरुमा ट्राफिक प्रहरीको उपस्थिति नगण्य हुने गरेको छ

नुवाकोटमा शुक्रबार विहान भएको एउटा यात्रुवाहक बस दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान जानुका साथै झन्डै ५० जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

काठमाण्डूबाट रसुवातर्फको यात्रामा रहेको उक्त बस बेलकोट तिगाउं भन्ने स्थानमा भीरबाट खसेर दुर्घटनाग्रस्त हुंदा ज्यान गुमाउनेमा तीन जना बिदेशी नागरीक समेत रहेका बताइएको छ।

दुर्घटनामा परी घाईते भएका ४० जना यात्रुहरुको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको र ती मध्य केहीको अवस्था गम्भिर रहेको अधिकारीहरुको भनाई छ।

क्षमता भन्दा बढी यात्रुहरु रहेका कारण उक्त बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशंका छ।

क्षती

क्षमता भन्दा बढी यात्रु बोक्नुलाई नै पछिल्लो दुर्घटनाको प्रमुख कारण ठानिएको अधिकारीहरुले बताएका छन्।

काठमाण्डूबाट रसुवाको धुन्चेतर्फ जादै गरेको बस सडकबाट एक सय मिटर तल खसेको थियो।

घाईते ५० जना भन्दा बढी यात्रु मध्ये केही सामान्य उपचार पछी घर फर्किएको र ४० जनाको काठमाण्डूका बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।

घटनाको प्रारम्भिक अनुसन्धानले साँघुरो बाटोमा गुडिरहेको सो बसमा क्षमता भन्दा बढि यात्रुहरु रहेको देखाएको छ।

काठमाण्डूबाट सिट संख्या अनुसार नै यात्रुहरु लिएर हिँडेको सो बसले बिचका बिभिन्न स्थानहरुबाट क्षमता भन्दा बढी यात्रुहरु थपेको बताईएको छ।

फितलो

चाडबाडको बेलामा बसहरुले क्षमता भन्दा बढी यात्रुहरु बोक्ने कुरा थाहा हुँदा हुँदै पनि त्यसको अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको प्रमुख जिल्ला अधिकारी निरौलाले स्विकारे।

उनले भने “बाटोबाट धेरै मानिस थपिएको देखीन्छ, ठाँउ ठाँउमा जाँच चौकीहरु राखेर चेकजाँच गर्ने कुरामा केही कमी भएकै हो।”

ट्राफिक महासाखा प्रमुख डिआईजी केशब अधिकारीले पहाडी बाटोमा ट्राफिक प्रहरीहरु नखटाइने हुनाले सवारी व्यवसायीहरुले त्यसको फाईदा लिन खोज्दा यात्रुहरुको ज्यान जोखिममा परेको बताए।

कतिपय अवस्थामा क्षमता भन्दा बढि यात्रु लिएर जाने बसहरुले प्रहरी जाँच चौकि भन्दा वरै छतमा रहेका यात्रुहरुलाई झार्ने र जाँच चौकि कटेपछी पुन: छतमा चढाउने गरेका छन्।

त्यसबारे जानकारी हुंदा हुंदै पनि नियन्त्रणको कदम नचालेको भन्दै स्थानीय प्रशासनको आलोचना हुने गरेको छ।