संसद आक्रमणको भीडिओ सार्वजनिक

  • 24 अक्टोबर 2014
Image caption प्रधानमन्त्री स्टेफेन हार्परले आतंकवादविरुद्धको कदम अझ सशक्त बनाइने बताएका छन्

क्यानाडाको राजधानी ओटवास्थित संसद हाताभित्र बुधबार एकजना बन्दुकधारीसँग भएको गोली हानाहानको भीडिओ अधिकारीहरुले सार्वजनिक गरेका छन्।

त्यसको केही मिनेटअघि ती बन्दुकधारी माइकल जेहाफ बिबेउले राजधानी ‌ओटवास्थित युद्ध स्मृति स्थलमा एकजना सैनिकको गोली हानी हत्या गरेका थिए।

पछि संसद हाताभित्र सेनाका केभिन भिकर्सको गोली प्रहारबाट जेहाफ बिबेउ मारिएका थिए।

उनी उच्च खतरा भएको यात्रुहरुको सुचीमा नरहेपनि अतिवादी तत्वहरुसँग उनको सम्पर्क रहेको प्रहरीले जनाएको छ।

अपराधी

प्रहरी अधिकारीहरुका अनुसार हालै उनले पासपोर्टका लागि निवेदन दिएको र सिरिया जान चाहेका थिए।

बिहिबार आयोजित एउटा पत्रकार सम्मेलनमा रोयल क्यानाडियन माउण्टेड पोलिसका आयुक्त बब पव्लसनले जेहाफ बिबेउ सानोतिनो अपराधी भएको र उनीसँग लिबियाली नागरिकता पनि हुन सक्ने बताए।

पव्लसनले क्यानाडाको सुरक्षाका लागि उच्च खतरा मानिएका ९० जना यात्रुहरुको सुचीमा उनी नरहेको जनाए।

त्यस्तै सोमबार कारले ठक्कर दिई एकजना सैनिकको हत्या गर्ने व्यक्तिसँग पनि जेहाफ बिबेउको कुनै सम्बन्ध नभएको प्रहरी आयुक्तले स्पष्ट पारे।

अतिवादी

उनले भने, “उनले पासपोर्टका लागि हालै निवेदन दिएको हामीलाई थाहा थियो। र, उनीसँग सम्बन्धित तथ्यहरुको पुष्टिका लागि हामीहरुलाई सम्पर्क गरिएको थियो।”

उनी व्यक्तिगत रुपमै अतिवादी सोच राख्ने हुन सक्ने पव्लसनको भनाई थियो।

प्रहरी अधिकारीहरुका अनुसार पासपोर्टका लागि निवेदन दिन अक्टोबर २ तारिखमा जेहाफ बिबेउ राजधानी पुगेका थिए।

आक्रमणका बेला प्रयोग गरिएको कार उनले मंगलबार किनेका थिए।

बुधबार विहान स्थानीय समय अनुसार ९ बजेर ५० मिनेटमा जेहाफ बिबेउले पछाडिबाट सैनिक जवान नेथन किरिलोमाथि दुई पटक गोली प्रहार गरेको बताइएको छ।

त्यसपछि जेहाफ बिबेउले अर्का सैनिक जवानमाथि गोली प्रहार गरेपनि त्यो उनलाई लागेन।