संक्रमितको सम्पर्कमा आएकामाथि निगरानी

  • 25 अक्टोबर 2014
Image caption इबोला भाइरसबाट दुई वर्षीया बालिकाको मृत्यु भएपछि मालीमा सतर्कता बढाइएको छ

मालीमा पहिलो पटक इबोला भाइरसबाट संक्रमित भई मृत्यु भएको दुई वर्षीया बालिकासँग धेरै मानिसहरु सम्पर्कमा आएको हुन सक्ने संभावनाप्रति स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

हालै गिनीबाट फर्केकी ती बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।

विभिन्न सहर हुँदै सार्वजनिक बसमा यात्रा गरिरहेको बेला ती बालिकामा नाकबाट रगत आउने लगायतका इबोला भाइरसका लक्षणहरु देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

उनीसँग सम्पर्कमा आएका १० जना स्वास्थ्यकर्मीसहित ४३ जनालाई पहिचान गरी निगरानीमा राखिएको छ।

लक्षण

मालीको पश्चिमी सहर केय्जस्थित अस्पतालमा बुधबारदेखि ती बालिकाको उपचार भईरहेको थियो।

दुई वर्षीया बालिकाले राजधानी बोमाकोबाट केय्जसम्म एक हजार किलोमिटरभन्दा लामो दूरीको यात्रा गरेको बताइएको छ।

इबोला भाइरसका लक्षणहरु देखिएका बेला बसबाट उनले गरेको यात्रा विशेष चिन्ताको विषय भएको र त्यस क्रममा धेरै मानिसहरु सम्पर्कमा आएको हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

केही साताअघि गिनीमा ती बालिकाकी आमाको मृत्यु भएपछि आफन्तहरुले मालीबाट उनलाई गिनी लगेका थिए।

बालिकाकी आमाको अन्त्येष्टिमा सहभागी भएर उनकी हजुरआमाले इबोलाबाट नराम्ररी प्रभावित गिनीबाट उनलाई बसमा माली ल्याएकी थिइन्।

त्रसित

केय्जस्थित अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन्।

इबोला भाइरसबाट मृत्यु हुने चार हजार आठ सयभन्दा बढी मानिसहरुमध्ये अधिकांश गिनी, लाइबेरिया र सियरा लियोनका रहेका छन्।

इबोला भाइरसबाट ती बालिकाको मृत्यु भएपछि बोमाकोका मानिसहरु त्रसित भएका छन्।

यद्यपि जनजीवन सामान्य रहेको बताइएको छ।

केही मानिसहरुले अरुसँग हात मिलाउन छाडेका छन्।