'अफगानिस्तानलाई सैन्य अड्डा हस्तान्तरण'

  • 26 अक्टोबर 2014
तस्वीर कपीराइट MOD
Image caption अफगानिस्तानमा अहिलेसम्म १ लाख ४० हजार ब्रिटिश फौजले काम गरिसकेका छन्

संयुक्त राज्य अमेरिका र ब्रिटेनले अफगानिस्तानस्थित आफ्नो अन्तिम सैन्य अड्डाहरु अफगानी सुरक्षा निकायलाई हस्तान्तरण गरेका छन्।

यो संगै करिब १३ वर्षअघि अफगानिस्तानमा सुरु ती मुलुकको सैन्य कारबाही विधिवत रुपमा अन्त्य भएको बताइएको छ।

तर अफगानी फौजलाई सघाउन भने केही सय सैनिक अफगानिस्तानमै रहने अधिकारीहरुले बताएका छन्।

हेलमन्द प्रान्तस्थित ब्रिटीश सैन्य अड्डा क्याम्प बास्टियन र संगैको अमेरिकी अड्डा क्याम्प लेदरनेक अब अफगानी नियन्त्रणमा गएका छन्।

फिर्ता

सन् २००१ मा अफगानिस्तानमा सुरु सैन्य कारबाहीका क्रममा हालसम्म ४ सय ५३ जना ब्रिटीश सैनिकले ज्यान गुमाएका छन्।

ब्रिटेनले भन्दा बढी क्षति व्योहोरेको अमेरिकाले उसका करिब २३५० सैनिक अफगानिस्तानमा गुमाएको छ।

ब्रिटिश रक्षामन्त्री माइकल फ्यालनले सैन्य कारबाहीका क्रममा गल्तीहरु भए पनि विदेशी फौज अफगानिस्तान पुगे यता परिस्थिति सुध्रिएको बताए।

उनले भने, "हामीले यो भनिरहेका छैनौ कि तालिवानहरु पराजित भएका छन्, त्यो अझै टाढा छ, त्यहां अझै पनि द्धन्द्ध छ, तर हामीले थप समृद्ध र स्थायित्व सहितको अफगानिस्तान छाडेर जान लागेका छौं, अनि प्रजातान्त्रिक सरकार पनि छ र आफ्ना जनतालाई सुरक्षा र समृद्धि दिन सक्ने सुरक्षा फौज पनि।"

खर्च

उनले अफगानी सुरक्षा निकायलाई सघाउन केही सय ब्रिटीश फौज भने अझै अफगानिस्तानमा रहने बताए।

तर कुनै पनि हालतमा आफ्ना सैनिकलाई सुरक्षा कारबाही निम्ति फेरि अफगानिस्तान नपठाउने उनले बताए।

त्यस क्रममा १९ अर्ब पाउन्ड खर्च भएको ब्रिटीश रक्षा मन्त्रालयले जनाएको छ।