‘लाइबेरियामा इबोला संक्रमण सुस्त’

  • 30 अक्टोबर 2014
तस्वीर कपीराइट AFP
Image caption मृतकको संख्यामा आएको गिरावटले इबोला नियन्त्रण प्रयासलाई बल पुग्ने बताइएको छ

इबोला भाइरसबाट नराम्ररी प्रभावित पश्चिम अफ्रिकी मुलुकहरुमध्ये लाइबेरियामा उक्त भाइरस फैलिने क्रम पछिल्लो समय सुस्त देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संगठनका डा. ब्रुस एल्वर्डले उक्त भाइरसविरुद्धको लडाईंमा सफलता मिल्न थालेको बताए।

यद्यपि अहिले नै संकट अन्त्य भएको भन्न नमिल्ने उनको भनाई थियो।

तर उक्त भनाई सार्वजनिक भएको केही समयपछि सो संगठनले विभिन्न देशहरुमा गरी इबोला संक्रमित मानिसहरुको संख्या ३ हजारले बढेर १३ हजार ७ सय ३ पुगेको जनाएको छ।

संक्रमित

रिपोर्टिङ्गसम्बन्धी समस्याका कारण चार दिनअघि सार्वजनिक प्रतिवेदनमा कम संख्या देखिएको उसको भनाई छ।

शनिबार सार्वजनिक प्रतिवेदनमा संक्रमितहरुको संख्या १० हजार १ सय ४१ पुगेको उल्लेख थियो।

नयाँ प्रतिवेदन अनुसार इबोला भाइरसका कारण मृत्यु हुने मानिसहरुको संख्या ४ हजार ९ सय २० रहेको छ।

त्यसमध्ये १० जनामात्र लाइबेरिया, सियरा लियोन र गिनी बाहिरका मुलुकको भएको उक्त संगठनले जनाएको छ।

संगठनका सहायक महानिर्देशक एल्वर्डले पुराना बिरामीहरुको संख्या अध्यावधिक गर्दा संक्रमितहरुको संख्या बढेको पाइएको बताए।

सुस्त

लाइबेरियामा बिरामीहरुको संख्या ४ हजार ६ सय ५५ बाट बढेर ६ हजार ५ सय ३५ देखिएपनि मृत्यु हुने मानिसहरुको संख्या २ हजार ७ सय ५ बाट घटेर २ हजार ४ सय १३ पाइएको सो संगठनले जनाएको छ।

गिनीमा भने इबोला भाइरसका कारण मृत्यु मानिसहरुको संख्या ९ सय २६ बाट उक्लेर ९ सय ९७ पुगेको छ भने सियरा लियोनमा १ हजार २ सय ८१ बाट बढेर १ हजार ५ सय पुगेको छ।

लाइबेरियाको रेडक्रसले गत साता आफ्नो टोलीले १ सय १७ जनाको शव संकलन गरेको जनाएको छ।

गत सेप्टेम्बरमा भने ३ सय १५ जनाको शव संकलन गरिएको थियो।

त्यहाँका उपचार केन्द्रहरुमा पनि केही शय्याहरु खाली देखिन थालेको बताइएको छ।

डा. एडवर्डले भने, “यसको अर्थ लाइबेरियामा संक्रमणको गति सुस्त हुन थालेको छ। नयाँ बिरामीहरु थपिने दरमा हामीले कमी आएको देखिरहेका छौं।”