बुर्किना फासोमा जिदालाई सेनाको समर्थन

  • 1 नोभेम्बर 2014
Image caption यसअघिका राष्ट्रपति कम्पाओरेले झन्डै ३ दशक शासन गरिसकेर पनि अझै लम्ब्याउन खोजेको भन्दै त्यहाँ थुप्रै हिंसात्मक प्रदशर्नहरु भएका थिए।

बुर्किना फासोको सेनाले इज्याक जिदालाई राष्ट्रपतिका रुपमा समर्थन गरेको जनाएको छ।

सेनाले शनिबार वक्त्व्य निकालेर राष्ट्रपतीय सुरक्षा दस्ताका लेफ्टिनेन्ट कर्णेल जिदालाई समर्थन गरेको जनाएको हो।

उक्त घोषणा संगै उक्त अफ्रिकी मुलुकको नेतृत्वबारे देखिएको अन्योल अन्त्य भएको ठानिएको छ।

राष्ट्रपति ब्लेइज कम्पाओरे बाहिरिएपछि सुरुमा सेना प्रमुख अनरे ट्राओरेले आफू राष्ट्रप्रमुख भएको दावी गरेका थिए।

समर्थन

लगत्तै राष्ट्रपतीय सुरक्षा दस्ताका लेफ्टिनेन्ट कर्णेल आइज्याक जिदाले पनि आफू राष्ट्रप्रमुख भएको घोषणा गरेका थिए।

त्यसले केही समय अन्योल उत्पन्न गरायो।

तर अब राष्ट्रिय सेनाले आफ्ना प्रमुखलाई नभइ जिदालाई समर्थन गर्ने घोषणा गरेपछि उक्त अन्योल अन्त्य भएको ठानिएको छ।

सेनाको उक्त घोषणालाई उसका सेना प्रमुखविरुद्धको विद्रोहका रुपमा हेरिएको छ।

तर सेनाले जारी गरेको वक्त्व्यमा सेना प्रमुख ट्राओरेको पनि हस्ताक्षर रहेको जनाइएको छ।

राष्ट्रपतीय सुरक्षा दस्ताको दोस्रो उच्चअधिकारी जिदाले गए राति टेलिभिजनमार्फत बुर्किना फासोमा सत्ता सम्हालेको घोषणा गरेका थिए।

आग्रह

उनले भनेका थिए, “यो संक्रमणकलमा आजदेखि राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेको म घोषणा गर्दछु। म अन्तर्राष्ट्रिय समुदाय खासगरी बुर्किना फासोका मित्रहरुलाई यो अप्ठ्यारो घडीमा बुर्किन फासोलाई साथ र समर्थन दिन आग्रह गर्छु।”

उनले संक्रमणकाल छिट्टै अन्त्य गरी प्रजातन्त्र पुनर्वहाली गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

राष्ट्रपति कम्पाओरेले आफ्नो २७ वर्षे लामो शासन लम्ब्याउन खोजेपछि बुर्किना फासोमा हिंसात्मक प्रदर्शनहरु भएका थिए।

उक्त विरोधपछि उनी आफ्नो पद छाड्न वाध्य भए।

अहिले उनले अर्को अफ्रिकी मुलुक आइभोरी कोस्टमा शरण लिइरहेको विवरणहरुमा जनाइएको छ।