सहमति नभए विवादित विषय संविधानसभामा

  • 1 नोभेम्बर 2014
तस्वीर कपीराइट Surendra Phuyal
Image caption संविधानसभाले सहमति गर्न भन्दै संवाद समितिलाई दिएको यो तेस्रोपटकको म्याद हो।

अन्तिम पटक भन्दै दिइएको शनिबारसम्मको म्यादभित्र पनि सहमति जुट्न नसकेपछि दलहरुले संविधानका विवादित विषयमा आआफ्ना धारणा संविधानसभामा लैजाने तयारी गरेका छन्।

आइतबार बिहानसम्म सहमतिको प्रयास गर्ने र त्यो विफल भए, संवैधानिक राजनीतिक संवाद तथा सहमतिमार्फत दलगत धारणा संविधानसभामा प्रवेश गराउने तयारी भएको नेताहरुले बताएका छन्।

तर त्यसको अर्थ मतदानमा जाने नभएको भन्दै कतिपय नेताले संविधानसभाको पूर्ण बैठकमा पनि सहमतिको प्रयास जारी रहने जनाएका छन्।

संविधानसभाले पछिल्लोपटक दिएको समयसीमा अनुसार दलहरुले शनिबारसम्म सहमति जुटाउन नसके विवादित विषयहरुको प्रश्नावलीसहितको प्रतिवेदन संवाद समितिले आइतबार सदनमा बुझाउनुपर्ने कार्यतालिका छ।

तयारी

तर दलहरुले आइतबार बिहान फेरि सहमतिको प्रयास गर्ने र सहमति नभए विवादित विषयमा आआफ्ना धारणा संविधानसभामा लैजाने निर्णय गरेका छन्।

प्रमुख तीन दलका शीर्ष नेताहरु, संविधानसभा अध्यक्ष, संवाद र मस्यौदा समितिका सभापतिहरुबीच शनिबार भएको संयुक्त छलफलले ती विषयहरु संविधानसभामा प्रवेश गरेपनि सहमतिको प्रयास भने नछाड्ने निर्णय गरेको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताए।

उनले भने, "सहमति भएन भने आइतबार संवाद समितिको बैठकमा दलहरुको अन्तिममा जस्तो अवस्था हुन्छ त्यसैलाई संविधानसभामा पठाउने र त्यहाँ पनि सहमतिलाई जारी राख्दै फेरी छलफल गर्ने भन्ने समझदारी भएको छ।"

साझा प्रस्ताव

यसै मेसोमा शनिवार नै सत्तारुढ प्रमुख दुई घटक नेपाली कांग्रेस र नेकपा एमालेले विवादित विषयहरु राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीमा साझा प्रस्ताव तय गरेका छन्।

उक्त प्रस्तावबारे नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, "हामीले ६ प्रदेश हुने, सहभागितामुलक शासकीय स्वरुप हुने, समावेशी हुने गरी प्रतिनिधि सभा र समानुपातिक समावेशी हुने गरी राष्ट्रिय सभा र न्याय प्रणालीमा संवैधानिक अदालत हुने प्रस्ताव तय गरेका छौं।"

उक्त प्रस्तावबारे आजै कांग्रेस र एमालेले संविधानसभाका साना दलहरुको धारणा लिएका थिए।

त्यसमा उनीहरुको धारणालाई पनि समेट्ने र आइतबार संवाद समितिको बैठकमा साझा प्रस्ताव पेश गर्ने तयारीमा ती दुई दलहरु लागेको नेताहरुले बताएका छन्।