वाघा सीमा नजिक आत्मघाती विष्फोट

  • 3 नोभेम्बर 2014
तस्वीर कपीराइट BBC World Service
Image caption विष्फोटको भारत र पाकिस्तान दुबै देशका नेताहरुले निन्दा गरेका छन्

पाकिस्तान-भारत आवतजावत गर्ने एकमात्र नाका वाघा नजिकै पाकिस्तान तर्फ आइतबार गराइएको एउटा आत्मघाती बम विष्फोटमा तीनजना सुरक्षाकर्मीहरुसहित कम्तीमा ५७ जना मानिसहरुको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार विष्फोटमा परि घाइते भएका १२० जना मध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको र मारिएकाहरुमध्ये तीनजना पाकिस्तानी सीमा सुरक्षा बलका जवान छन्।

दुबै तर्फ प्रस्तुत गरिने सुरक्षा परेड सकिएको केहीबेरपछि मानिसहरु कार पार्किङस्थल तर्फ गइरहेका बेला उक्त घट्ना भएको थियो।

बन्द हुने

पाकिस्तानको पञ्जाबका प्रहरी प्रमुख मुस्ताक सुखेराले कार्यक्रम सकिएपछि विष्फोट भएको समाचार संस्था रोयटर्सलाई बताए।

गुप्तचर निकायका एक अधिकारीले आफू कार्यालयमा बसिरहेका बेला विष्फोटको आवाज सुनिएको बताउँदै भने, “घटनास्थल पुग्दा शवहरु छरपस्ट भएको र घाईते महिला तथा बालबालिकाहरु लडिरहेको देखें।”

नाका बन्द गर्नुअघि दिनहुँ हुने परेड प्रस्तुती हेर्न दुबै तर्फ हजारौं मानिस जाने गर्छन्।

पाकिस्तानको आग्रहमा तीन दिन परेड बन्द हुने भारतीय अधिकारीहरुले बताएका छन्।

आफूहरुले विष्फोट गराएको पाकिस्तानी तालिबानले बीबीसीलाई बताएको छ भने जुन्दुल्लाह लगायतका लडाकु समूहले पनि विष्फोटको जिम्मेवारी लिएका छन्।

आतंकवादी

पाकिस्तानी विपक्षी दलका नेता इमरान खानले विष्फोटलाई आतंकवादी कार्यको संज्ञा दिए।

Image caption नाका बन्द गर्नुअघि हुने परेड प्रस्तुति हेर्न दुबै तर्फ हजारौं मानिस जान्छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई कायरतापूर्ण आतंकवादी काम भनेका छन्।

जिदाही समूहहरुलाई पाकिस्तानले सघाउँदै आएको आरोप भारतले लगाउने गरेको छ।

तीन पटक युद्ध गरिसकेका दुई छिमेकी मुलुकबीच कश्मीरलाई लिएर लामो समयदेखि विवाद रहिआएको छ।

आइतबारको आक्रमणबाट भारततर्फ कुनै क्षति नभएको एकजना सुरक्षा अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।