पृथकतावादीद्वारा गराइएको चुनावको अमेरिकाद्वारा निन्दा

  • 4 नोभेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption युक्रेनले मंगलबार राष्ट्रिय सुरक्षा परिषदमा छलफल गरेपछि आवश्यक कदम चालिने बताएको छ

पूर्वी युक्रेनमा विद्रोहीहरुले गराएको निर्वाचनको निन्दा गर्दै अमेरिकी राष्ट्रपतिको कार्यालयले त्यसलाई नाटकको संज्ञा दिएको छ।

ह्वाइट हाउसले उक्त निर्वाचन संविधान र कानुनसंग बाझिएको बताएको छ।

उक्त चुनावलाई मस्कोले भने मान्यता दिएको छ।

निर्वाचनपछि दुईजना पृथकतावादी नेताहरुले आ-आफ्नो जीत भएको दाबी गरेका छन्।

विशेषाधिकार

तर टेलिभिजनमार्फत प्रसारण गरिएको आफ्नो सम्बोधनमा युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोले उक्त क्षेत्रलाई प्रदान गरिएको विशेषाधिकार खारेज गर्ने विषयमा पुनर्विचार गरिने बताए।

गत सेप्टेम्बरमा भएको शान्ति सम्झौतामा ती क्षेत्रलाई विशेषाधिकार दिने उल्लेख गरिएको थियो।

पोरोशेन्कोले भने, “पृथकतावादी नेताहरुले आफूहरुलाई मन्त्री दाबी गरेपनि मेरो नजरमा उनीहरु अपराधी र डाका नै रहनेछन्।”

विद्रोहीहरुले भने आइतबार सम्पन्न निर्वाचनलाई कियभको नियन्त्रणबाट पूर्णरुपमा अलग हुने कदमको रुपमा लिएका छन्।

रुसले उक्त क्षेत्रको स्वतन्त्रतालाई मान्यता नदिएपनि त्यहाँका विदेशमन्त्रीले आइतबारको निर्वाचनले कियभसँग दोनेस्क तथा लुहान्स्कको वार्ताका लागि बाटो खुला गर्नुपर्ने बताएका छन्।

प्रतिवद्धता

विद्रोहीहरुले गराएको निर्वाचनलाई मस्कोले गरेको समर्थनले चिन्तित तुल्याएको ह्वाइट हाउसले जनाएको छ।

पछिल्लो कदमले पूर्वी युक्रेनमा शान्ति ल्याउनका निम्ति सघाउने मस्कोको प्रतिवद्धतामाथि प्रश्न उठेको ह्वाइट हाउसको ठहर छ।

यद्यपि धेरै पश्चिमाहरुका लागि मस्कोको उक्त प्रतिवद्धता पहिल्यैदेखि नै शंकाको घेरामा थियो।

गत सेप्टेम्बरमा मिन्स्कमा भएको सम्झौतामा रुस, युक्रेन र पृथकतावादी नेताहरुले हस्ताक्षर गरेका थिए।

सम्झौतामा तत्काल संघर्षविराम गरिने भनिएपनि लडाईं जारी छ।