पदयात्रा मार्ग 'सुरक्षित बनाउने कार्य सुरु'

  • 5 नोभेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption हालै गएको हिमपात र हिमपहिरोका कारण पर्यटकहरुको संख्यामा कमी आउन सक्ने बताइन्छ

अन्नपूर्ण क्षेत्रको पदयात्रा मार्गमा ठाउँ-ठाउँमा विश्रामस्थलको निर्माण, मौसमको जानकारी र पदयात्रीको दर्ता पक्रियाका व्यवस्था मिलाउन थालिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।

हिमपात र हिमपहिरोमा परी करिब ४० जना पदयात्रीहरुले ज्यान गुमाएको झण्डै तीन सातापछि अन्नपूर्ण क्षेत्रमा विस्तारै पदयात्रीहरुको संख्या बढ्न थालेको छ।

अचेल दैनिक एक सयभन्दा बढी पदयात्रीहरु थोराङ्ग ला भञ्ज्याङ्ग पार गरी मुस्ताङ्गतर्फ जाने गरेको एक्यापले जनाएको छ।

विपद् अगाडि दैनिक तीन सय पदयात्री त्यहाँबाट जान्थे।

कार्यक्रम

हिमपातले पुर्याएको मानवीय क्षतिबाट पाठ सिकेर भविष्यमा हुन सक्ने यस्ता घटनामा क्षति हुन नदिन काम सुरु गर्न लागिएको एक्यापका आयोजना निर्देशक लालप्रसाद गुरुङ बताउँछन्।

उनी भन्छन्, "अहिले हामी छलफल गरेर विपद् आउँदा जोगाउन सक्ने ठाउँमा 'सेल्टर' बनाउन पहल गर्दैछौं। मनाङ्मा एउटामात्र सूचना केन्द्र छ। अब चेकपोष्ट राखेर हरेक चेकपोष्टहरु भएर जाने र मुक्तिनाथमा पनि त्यही व्यवस्था गर्ने कार्यक्रम छ।"

मौसमको पूर्वसूचना प्रणाली स्थापना सबैभन्दा प्रभावकारी र महत्वपूर्ण पक्ष भएको उनी बताउँछन्।

सूचनाको क्षेत्रमा पनि तत्कालका लागि प्रारम्भिक काम सुरु गरिएको उनको भनाइ छ।

उनी भन्छन्, "मुख्यतः पूर्वसूचना भयो भने धेरै कुरामा मद्दत पुर्याउँछ। मौसम पूर्वानुमान शाखा पोखराले साप्ताहिक रुपमा मनाङ्ग र जोमसोमलाई जानकारी गराउने व्यवस्था मिलाउँछौं।"

न्यूनीकरण

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले पद यात्रामा जाने नेपालीलाई जलवायु परिवर्तन तथा मौसमी अवस्थाबारे सचेत गराउन आवश्यक भएको बताए।

उनले भने, "मजदुरलाई जलवायु परिवर्तन, मौसमसम्बन्धी जनकारी हुने खालका सचेतना र न्यूनीकरणका उपयबारे तालिम दिने सोच बनएका छौं।"

पाँच हजार चार सय मिटरभन्दा अग्लो थोराङ्ग ला पार गर्नुलाई साहस र चुनौतीका रुपमा लिएका कारण पर्यटकहरुका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्दै आएको छ।

पर्यटक आगमनको मुख्य याममै हिमाली क्षेत्रमा मानवीय क्षतिको घटना भएको हुँदा समग्र पर्यटन व्यवसायमा असर पर्ने हो कि भनेर यस क्षेत्रका पर्यटन व्यवसायीहरु चिन्तित छन् ।