मध्यावधि चुनावमा रिपब्लिकनको जीत

  • 5 नोभेम्बर 2014
तस्वीर कपीराइट
Image caption निर्वाचन परिणामले अमेरिकीहरु आफ्ना राजनीतिज्ञहरुबाट दिक्क भइरहेका छन् भन्ने देखाएको छ।

संयुक्त राज्य अमेरिकामा भएको मध्यावधि निर्वाचनमा सत्ताधारी डेमोक्र्याटीक पार्टीले ठूला हार बेहोरेपछि, राष्ट्रपति बाराक ओबामाले अमेरिकी संसद, कंग्रेसमा रहेका दुवै पार्टीका नेताहरुलाई अबको राजनीतिक बाटो बारे छलफल गर्न ह्वाइट हाउसमा आमन्त्रण गरेका छन्।

मंगलबार भएको मतगणनापछि पहिले भन्दा सात स्थान बढी हासिल गरेर अमेरिकी संसदको दुवै सदन अब विपक्षी रिपब्लीकनहरुको कब्जामा पुगेको छ।

आफू सुहाउंदो निर्वाचन परिणाम प्राप्त भएपछि सिनेटमा रिपब्लीकनहरुका नेता मिच मक्कोनेलले वर्तमान प्रशासनले जनताको विश्वास गुमाएको बताएका छन्।

अब उनको पार्टीले राष्ट्रपति बाराक ओबामाको बांकी दुई वर्षको कार्यकाल कुन दिशामा अघि बढ्ने छ भन्ने कुरालाई प्रभावित तुल्याउन सक्नेछ।

विवाद

हालैका वर्षहरुमा राष्ट्रपति र संसदबीचको मतभेदले कतिपय विधेयकहरु पारित हुन, कि त ढिलो कि त असफल भएका छन्।

बीबीसीका उत्तर अमेरिका सम्पादक जो सोपेल भन्छन्, यो मध्यावधि निर्वाचन अघि देखिएको राष्ट्रपति बाराक ओबामाको अलोकप्रियतालाई बढाई चढाई प्रस्तुत गर्नु पर्दैन।

त्यस्तो धारणा ह्वाइट हाउसमा बस्नेहरु विरुद्ध मात्र बनिरहेको छैन, तर राष्ट्रपति मुख्य व्यक्ति हुन्।

रिपब्लिकन नेता मिच मक्कोनेल पनि यो धारणा प्रति सचेत छन् र अबको दुई बर्षपछि हुने राष्ट्रपतिय निर्वाचनमा अमेरिकी मतदाताले उनीविरुद्ध पनि आफ्नो असन्तोष पोख्‍न सक्छन्।

त्यस्तै बीबीसीका ब्यापार सम्बाददाता थेओ लेगेट भन्छन्, निर्वाचन र मत परिणामको चर्चा सेलाएपछि अमेरिकामा फेरि सरकारी खर्चको विषयले चर्चा पाउन सक्नेछ।

हालको संघीय कर्जा सिमाको बढाइएको म्याद सन् २०१५ को मार्च महिनामा समाप्त हुंनेछ र त्यस बेला राजनीति चर्कने छ।

त्यही विवादका कारण खर्च नभएर गत बर्ष अमेरिकी सरकारी सेवाहरु आंशिक रुपमा बन्द हुन पुगेका थिए।

तर केही विश्लेषहरु भन्छन्, लगत्तै सन् २०१६ मा राष्ट्रपतिय निर्वाचन हुने हुंदा त्यसबेला राष्ट्रपति ओबामासंग तिक्ततापूर्ण विवादमा अल्झन रिपब्लीकनहरु हिचकिचाउन पनि सक्छन्।