रुसी मुद्रा रेकर्डस्तरमा कमजोर

  • 6 नोभेम्बर 2014
रुसी रुबल
Image caption यस वर्षको शुरुदेखिनै रुसी मुद्राको मूल्य लगातार घटिरहेको छ

रुसले युक्रेनमाथि कारवाही गरेको विरोधमा ऊ माथि विभिन्न देशहरुले लगाएको आर्थिक प्रतिबन्धका कारण मस्को को मुद्रा रुबल कमजोर हुँदै गएको छ।

त्यसमाथि त्यहाँको केन्द्रिय बैंकले रुबललाई बलियो बनाउन अब आफुले बजारमा गर्ने हस्तक्षेपलाई सीमित गर्ने घोषणा गरेपछि रुसी मुद्रा रेकर्डस्तरमा कमजोर हुन पुगेको छ।

रक्षा

अक्टोबर महिनाभर रुसी केन्द्रिय बैंकले रुबलको रक्षार्थ २९ अर्ब डलरभन्दा बढी खन्याएको थियो। जुन पाँच वर्ष यता त्यसरी खर्च गरिएको सबभन्दा धेरै रकम हो।

रुसले यूक्रेनमाथि गरेको कारवाहीका विरुद्ध ऊ माथि लगाइएका अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरुका कारण यस वर्षको शुरुवात यता रुबलले आफ्नो एक चौथाई मूल्य गुमाइसकेको छ।

कमजोर रुबलले रुसको निर्यातकर्ताहरुलाई फाइदा पुर्याउन सकेपनि महंगी बढ्दा उपभोक्ताहरुलाई भने नोक्सानी पर्नेछ।

घोषणा

बुधबार रुसी केन्द्रिय बैंकले आइन्दा उसले रुबललाई स्थिर पार्नका निम्ति एक दिनमा ३५ करोड अमेरिकि डलरभन्दा बढ्ता खर्च नगर्ने घोषणा गर्यो। त्यसले रुसी मुद्राको गिरावट झनै तीव्र हुन पुग्यो।

पश्चिमा देशहरुले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसलाई विदेशी मुद्रा संचय गर्न लायक नभएको देशको रुपमा बुझियो।

त्यस्तै तेलको मूल्यमा आएको गिरावटलेपनि रुबललाई थप कमजोर बनाएको छ।

तेल निकासीबाट हुने आम्दानी रुसका लागि विदेशी मुद्रा आर्जनको मुख्य बाटो रही आएको छ।

पछिल्ला समय रुबललाई कमजोर बन्न नदिन त्यहाँको केन्द्रिय बैंकले आफुसंग भएका विदेशी मुद्रा संचितिको प्रयोग गर्दै आएको थियो।

तर बुधबार उसले त्यस्तो प्रयोग सीमित बनाउने घोषणा गरेसंगै रुबल झनै ओरालो लागेको हो।