'राजनीतिक समितिको बैठक बहिष्कार'

  • 7 नोभेम्बर 2014
तस्वीर कपीराइट Nepal PMO
Image caption पछिल्लो गतिरोधका कारण माघ ८ गते संविधान जारी हुन नसक्ने आशंका बढ्दै गएको छ

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा एकीकृत माओवादीले अवरोध पुर्याएकाले प्रचण्ड संयोजक रहेको राजनीतिक समितिको बैठकमा आफूहरु नगएको प्रमुख सत्ताधारी दलहरुले बताएका छन्।

नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुले आफूहरु अनुपस्थित रहने जानकारी गराएपछि शुक्रबार अपरान्ह सिहंदरवारमा बस्ने भनिएको राजनीतिक समितिको बैठक स्थगित भएको छ।

कतिपय सत्तापक्षीय नेताहरुले संविधान लेखनको गतिरोधबारे छलफल गर्ने उपयुक्त थलो राजनीतिक समिति नभएको बताएका छन्।

एकीकृत माओवादीले राजनीतिक समझदारी जुटाउन बनेको समितिको बैठकमा सत्ताधारी दलहरुको अनुपस्थितिलाई दु:खद भन्दै सम्वाद प्रक्रिया निरन्तर जारी रहने बताएको छ।

बहिस्कार

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा शुक्रबार अपरान्ह चार बजेका लागि राजनीतिक समितिको बैठक डाकिएको जानकारी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले गराएका थिए।

तर प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार बिहान प्रचण्डलाई टेलिफोन गरी बैठकमा आफूहरु नआउने बताएपछि समितिको बैठक त्यतिकै स्थगित भयो।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सम्वाद समितिको बैठक सहज ढंगले अघि नबढेसम्म आफूहरु राजनीतिक समितिको बैठकमा नजाने बताए।

उनले भने, “पहिले राजनीतिक सम्वाद समितिको बैठक बसाउनुहोस्, अनि सौहार्द्रपूर्ण वातावरण बनाउनुहोस् त्यसपछि राजनीतिक समिति पनि बसौँ,शान्ति प्रक्रियाको बारेमा पनि छलफल गरौँ, सल्लाहको बाटो खुल्ला गरौँ भनेर हामीले भनेका छौँ।”

विवाद

काँग्रेस र एमालेले संविधानका विवादित विषयमा साझा धारणा प्रस्तुत गरेपछि उत्पन्न विवादका माझ सम्वाद समितिको बैठक अवरुद्ध छ।

सत्तापक्षीय दलहरुले संघीयता, शासकीय स्वरुप लगायतका विषयमा प्रस्तुत गरेको संयुक्त धारणा सम्वाद समितिको प्रतिवेदन मार्फत संविधानसभामा लैजान नदिने अडान एकिकृत माओवादी र ऊ सम्वद्ध मोर्चाले लिएको छ।

समय साँघुरींदै जांदा पछिल्लो ध्रुवीकरणले संविधान लेखन प्रक्रिया अन्यौलमा परेको छ।

सत्तापक्षीय दलका कतिपय नेताहरुले चाहीं शान्ति प्रकृयाबारे छलफल गर्न बनाइएको राजनीतिक समिति पछिल्लो विवाद हल गर्ने उपयुक्त थलो नभएको बताएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले राजनीतिक समितिसँग संविधान लेखनको विषयमा निर्णय गर्ने क्षेत्राधिकार नभएको बताए।

अन्यौल

दलहरुबीच समझदारी कायम गर्ने प्रयासमा आव्हान गरिएको राजनीतिक समितिको बैठकमा सत्तापक्षीय दलहरु अनुपस्थित भएकोमा आफू दु:खी भएको एकीकृत माओवादीले बताएको छ।

तर गतिरोध हल गर्ने प्रयासमा शुक्रबार दलहरुमाझ दुईपक्षीय छलफल अघि बढाउने प्रचण्डका स्वकीय सचिव तथा एकीकृत माओवादीका केन्द्रिय सदस्य चुडामणि खड्काले बताए।

उनले भने, “काँग्रेस र एमाले राजनीतिक समितिको बैठकमा नआउनुले उनीहरु संविधान लेखनप्रति गम्भिर नरहेको देखाएको छ, हामीले सहमति जुटाउन निरन्तर सम्वादको प्रक्रिया अघि बढाउने भनेका छौँ।”

पछिल्ला दिनमा माघ ८ गतेको समयसीमा भित्रै संविधान जारी गर्न युरोपेली संघ लगायत अन्तराष्ट्रिय समुदायहरुले दलहरुमाथि दवाव बढाएका छन्।

तर दलहरुको वार्ता परिणाममुखी हुन नसक्दा समयमै संविधान आउने सम्भावना कम हुँदै गएको आंकलन गरिएको छ।