विद्यार्थीको हत्या 'अपराधिक समुहबाट'

  • 8 नोभेम्बर 2014
तस्वीर कपीराइट no credit
Image caption मेक्सिकोमा हराइरहेका चालीस भन्दा बढी विद्यार्थीको अपराधिक समुहले हत्या गरेको बताइएको छ

मेक्सिकोका महान्यायाधिवक्ता जीसस मुरिलो करमले इगुआला शहरबाट हराइरहेका ४० भन्दा बढि विद्यार्थीहरुको विस्तृत विवरण दिएका छन्।

ति विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेर अपराधिक समुहलाई जिम्मा लगाएको र अपराधिक समुहले उनीहरुको हत्या गरेको विवरण महान्यायाधिवक्ताले दिएका छन्।

प्रेस सम्मेलन गर्नु अघि उनले हराइरहेका व्यक्तिका परिवारका सदस्यसँग भेटेर सन्चारकर्मीहरुलाई उनले दिन लागेको विवरणको जानकारी दिएका थिए।

विवरण अनुसार स्थानीय प्रहरीले २६ सेप्टेम्बरको रात उनीहरुलाई इगुआलामा थुनेका थिए।

हत्या

यसपछि उनीहरुलाई नजिकैको शहर कोकुलामा लगे गिरेरस युनिडस भनिने अपराधिक समुहलाई जिम्मा लगाइएको थियो।

उक्त समुहलाई जिम्मा लगाउने क्रममै निस्साशिएर पन्ध्र जनाको ज्यान गएको महान्यायाधिवक्ताले बताएका छन्।

बाँकी विद्यार्थीहरुलाई शहरको फोहोर थुप्रयाउने डम्पीङ साइटको एक छेउमा लगेर गोली हानेर मारिएको थियो। प्रेस सम्मेलनमा त्यसबारे केहि भीडियो क्लीपहरु पनि देखाइएको थियो।

तस्वीर कपीराइट EPA
Image caption महान्यायाधिवक्ता मुरिलोलाई विद्यार्थीबारे बोल्दा कष्ट भएको थियो

विवरण अनुसार विद्यार्थीका शरिरहरुलाई थुप्रो लगाएर जलाइएको थियो।

अवशेष

भोलीपल्ट फर्केर अपराधिक समुहले आठवटा काला फोहोर उठाउने थैलोहरुमा जलेर बाँकी रहेका अवशेष जम्मा गरी नदीमा मिल्काइदिएका थिए।

त्यस क्षेत्रमा अनुसन्धान गरिरहेका मेक्सिको र अर्जेन्टिनाका फरेन्सिक विज्ञहरुले फोहोरको छेउमा मानव अवशेष र नदीमा फ्याँकिएको एउटा थैलो पनि भेटेका छन्।

भेटिएका बस्तुहरुको अहिले अस्ट्रियामा विशेषज्ञहरुले जाँच गरिरहेका छन्।

महान्यायाधिवक्ताले त्यो पहिचान गर्ने पक्रियाले कति समय लिन्छ भन्ने स्पष्ट नभएको बताएका छन्।

अहिलेलाई ति विद्यार्थीहरुलाई कानुनी रुपमा मृत भन्न नमिल्ने र हराइरहेका भन्नुपर्ने बताउँदा महान्यायाधिवक्तालाई कष्ट भएको थियो।

अस्वीकार

बीबीसीका मेक्सिको संवाददाता वील ग्र्यान्ट्स भन्छन् परिवारका सदस्यहरुले घटनाबारे सरकारी भनाइ अस्वीकार गर्ने देखिन्छ।

उनीहरुले महान्यायाधिवक्ताले भनेको कुनै पनि कुरा विश्वास गर्न नसक्ने त्यसको स्वतन्त्र पुष्टि भएपछि मात्रै आफ्ना बच्चाहरु जीवित नरहेको स्विकार्ने बताएका छन्।

गिरेरो राज्यको कलेजमा शिक्षक तालिम दिने कलेजमा पढिरहेका ति विद्यार्थीहरु नजिकैको इगुआलामा उनीहरुकै शब्दमा पक्षपाती शिक्षक भर्ना प्रवृत्तिको विरोध गर्न गएका थिए।

तर उनीहरु प्रहरीसँगको झडपपछि हराइरहेका थिए त्यसैबेला प्रहरीले चलाएको गोलीबाट ६ जनाको मृत्यु भएको थियो भने प्रहरीले अरु विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो।

इगुवालाका मेयर र उनकी श्रीमतीलाई मेक्सिको सिटीमा मंगलबार गिरफ्तार गरिएको थियो।

मेक्सिकोका अधिकारीहरुले मेयरले आफ्नी श्रीमतीले दिन लागेको सार्वजनिक भाषणमा अवरोध पुर्याउनबाट रोक्न भन्दै विद्यार्थीलाई भीड्न निर्देशन दिएको बताएका छन्।

अहिलेसम्म त्यससँग संबद्ध ७४ जनालाई गिरफ्तार गरिएको छ।