धम्की होइन सहमति: कांग्रेस-एमाले

  • 9 नोभेम्बर 2014
Image caption संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संवाद समितिको बैठक कात्तिक १६ गतेदेखि बस्न सकेको छैन।

सत्तारुढ दलहरुले संविधान निर्माणमा प्रस्तुत गरेको साझा धारणाप्रति प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले गहिरो असन्तुष्टि पोख्दै आइरहेका बेला कांग्रेस र एमालेले अझै पनि सहमतिबाटै संविधान लेखन अघि बढाउन आफूहरु तयार रहेको बताएका छन्।

आइतबार काठमान्डुमा संयुक्त पत्रकार सम्मेलन गरेर ती दल दलका शीर्ष नेताहरुले संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा देखिएको गतिरोध तत्काल अन्त्य गर्न विपक्षी दलहरुलाई आग्रह गरे।

उनीहरुले संवाद समितिमार्फत आफूहरुको प्रस्ताव संविधानसभाभित्र प्रवेश गराउन अवरोध नगर्न आग्रह गरेका हुन्।

संविधानका विवादित विषयहरुबारे सत्तारुढ मुख्य दलहरुले साझा प्रस्ताव पेश गरेलगत्तै संवाद समितिका बैठकहरु अन्यौलमा परिरहेको बेला एकीकृत माओवादीसहितको २२ दलीय मोर्चाले मतदानको प्रक्रियाबाट संविधानका प्रमुख विषय नटुंग्याउन चेतावनी दिँदै आएको छ।

आग्रह

त्यसबाट रुष्ट जस्तो देखिएका कांग्रेस एमालेका शीर्ष नेताहरुले आज उक्त चेतावनीलाई धम्कीको रुपमा व्याख्या गर्दै आवेश, उत्तेजना र पूर्वाग्रह नराखी संविधान निर्माणको प्रकृयामा आउन आग्रह गरेका छन्।

त्यसमा उनीहरुलाई साथ दिएका थिए- राप्रपा, बहुजन समाजवादी पार्टी र दुई जना स्वतन्त्र सभासदले पनि।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले भने, "अनेक थरिको कुरा गर्नुहुन्छ किन त्यो गर्नुपर्यो? समस्याहरुको हल वार्ताबाट हुन्छ, तर उहाँहरुको बानी चाहिँ थर्काउने रहेछ अहिले पनि म अनुरोध गर्छु डराउने, थर्काउने काम छोड्नुस्।"

प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यास मानेर आएका पार्टीहरुले आफ्नो प्रतिवद्धता अनुसार समयमै संविधान दिन संवाद समितिको प्रक्रियामार्फत विवादित विषयको छलफललाई संविधानसभामा लगेर वार्तामार्फत नै सुल्झाउनुपर्नेमा जोड दिए।

दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा धेरै प्रदेश हुँदा त्यसले दुरगामी असर पुग्ने भन्दै आफूहरुले प्रस्ताव गरे अनुसार सात प्रदेश भन्दा माथि जान नसकिने बताए।

तर्कहीन तर्क

आफूहरुले एकीकृत माओवादीलाई एक्लो पारेर अघि बढ्न नखोजेको बरु उसले आफैँ संविधान निर्माणको बाटो छोडिरहेको ओलीको आरोप थियो।

पछिल्लो समय विपक्षी मोर्चाले विभिन्न कार्यक्रम गर्दै आएको विषयलाई इंगित गर्दै ओलीले भने, "उहाँहरु नै ट्रयाक छोडेर बाहिर गएको देखिँदैछ, कहिले पाँचथर, कहिले बाह्रबिघा पुगेर मान्छे उचाल्यो, त्यसप्रकारका काम गर्नु उचित हुँदैन। मिल्न पनि कहिल्यै नमिल्ने सहमति बिना पनि अघि बढ्न नपाउने भन्ने

तर्कहीन तर्कको पछि कुद्न सकिँदैन।"

सत्ताधारी र प्रतिपक्षी दलहरु छुट्टाछुट्टै मोर्चाबन्दी गरी एकआपसमा आरोप प्रत्यारोपमा उत्रिएपछि उनीहरुबीचको दुरी थप फराकिलो हुने चिन्ता व्यक्त हुन थालेका छन्।