बेलुन उडाउँदै बर्लिन पर्खालको सम्झना

  • 10 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption पर्खालमा चान्सलर एन्गेला मर्केल लगायतले गुलाफ राखेका थिए

पूर्वी र पश्चिमी जर्मनी विभाजन गरेको बर्लिन पर्खाल भत्काइएको २५ वर्ष पुरा भएको अवसरमा जर्मनीको राजधानीमा दशौ हजार मानिसहरु सहभागी कार्यक्रमको समापन झण्डै ८ हजार बेलुन उडाएर गरिएको छ।

खुला आकासमा राति एकपछि अर्को गरी ती बेलुनहरु उडाइएका थिए।

जर्मन चान्सलर एन्गेला मर्केलले भत्केको पर्खालले सपनाहरु पुरा हुन सक्छन् भन्ने सन्देश विश्वलाई दिएको बताइन्।

ऐतिहासिक ब्रान्डेनबर्ग गेटमा उक्त पर्खाल भत्काइएको सम्झनामा कार्यक्रम आयोजना गरिएको थियो।

शीतयुद्ध

तस्वीर कपीराइट AFP
Image caption सम्झाना कार्यक्रममा दशौं हजार मानिस सहभागि भएका थिए

कम्युनिष्टहरुको नियन्त्रणमा रहेको पूर्वी जर्मनीबाट मानिसहरुलाई पश्चिम जर्मनी जान नदिन सन् १९६१ मा बर्लिन पर्खाल बनाइएको थियो।

सन् १९८९ मा उक्त पर्खाल ढलिनुलाई शीतयुद्ध अन्त्य भएको सशक्त सूचकको रुपमा लिइन्छ।

सेता बेलुनहरुलाई बर्लिन पर्खालको उचाई बराबरको ३ दशमल ६ मिटर अग्लो पोलमा १५ किलोमिटरसम्म राखिएको थियो।

मानिसहरुको भीडले बर्लिन पर्खाल भत्काएको सम्झनामा सांकेतिक रुपमा एकपछि अर्को बेलुन उडाइएको थियो।

पहिलो बेलुन उडाउँदै बर्लिनका मेयरले आफूहरु विश्वमै सबैभन्दा बढी खुशी हुने मानिसहरु भएको बताए।

उत्साहित

२५ वर्ष पहिले बर्लिन पर्खाल भत्काएर मानिसहरुले उत्साहित बनाएको उनको भनाई थियो।

पूर्वी जर्मनीमा जन्मिएकी मर्केल र अन्य अधिकारीहरुले बर्लिन पर्खालको बाँकी एउटा भागमा गुलाफ राखेर उक्त घटनाको सम्झना गरे।

बर्लिन पर्खालबारे जानकारी दिनका निम्ति निर्मित सूचना केन्द्रको उद्घाटन गर्दै मर्केलले भनिन्, “के भएको थियो भन्ने कुरा बिर्सिन सजिलो छ। तर त्यसलाई सम्झिनु महत्वपूर्ण छ।”

बेलुनहरु उडाउनुअघि ब्रान्डेनबर्ग गेटमा खुला आकासमुनि भोजको आयोजना गरिएको थयो।