प्रचण्डको जिल्ला दौडाहाबाट सत्तारुढ दल रुष्ट

  • 10 नोभेम्बर 2014
ca
Image caption संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले अवरुद्ध प्रक्रियालाई गति दिने ठानिएको छ

संविधानका जटील मुद्दाहरुमा पछिल्लो समय औपचारिक संवाद निस्क्रिय प्राय: रहेकै बेला एकीकृत माओवादीका अध्यक्ष केही दिनका लागि जिल्ला भ्रमणमा हिंडेपछि सत्तारुढ घटकहरुले तीव्र असन्तुष्टि पोखेका छन्।

संविधान निर्माणको समयावधि साघुरिंदै जांदा वार्ता छल्न भ्रमणमा निस्किएको भन्दै कांग्रेस र एमालेका नेताहरुले गतिरोध अन्त्य गर्न प्रचण्ड उदासीन भएको आरोप लगाएका हुन्।

तर एकीकृत माओवादीले सत्तारुढ दलहरु सहमति निर्माणमा गम्भीर भए आफ्ना शीर्ष नेता केही दिन राजधानीमा नहुंदैमा खासै प्रभाव नपर्ने बताएको छ।

आशंका

संविधान जारी गर्ने निर्धारित समयसीमा नजिकिदैं गर्दा पनि, न त प्रमुख दलहरु बीच, न संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा नै औपचारिक छलफल हुन सकेको छ।

यसलाई प्रमुख दलहरु बीच दूरी बढ्दै गएको रुपमा अर्थाइएका बेला एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको रोल्पा भ्रमणले त्यसमा थप बल पुर्याएको ठान्नेहरु प्रशस्तै देखिन्छन्।

सत्तारुढ दलहरुले प्रचण्डको जिल्ला दौडाहालाई संविधान निर्माणमा उनको उदासीनताका रुपमा व्याख्या गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल भन्छन्, “ माघ ८ गते संविधान जारी नहुंदा पनि आकाशै खस्दैन भनेर प्रचण्डजीले भनिरहनुभएको छ। यस्तो महत्वपूर्ण समयमा वार्ता गर्न छाडेर उहां पछिल्लो जिल्ला दौडाहामा जानाले उहांप्रति नै आशंका उब्जिएको छ”।

एकीकृत माओवादी खासगरी संविधानका विवादित विषयमा कांग्रेस एमालेसहितका दलहरुले ल्याएको संयुक्त प्रस्तावप्रति असन्तुष्ट देखिन्छ।

तर त्यसमा छलफल गर्ने ढोका खुला छाड्दा पनि एकीकृत माओवादी प्रक्रियाबाट टाढिन खोजेको टिप्पणी एमाले उपाध्यक्ष भीम रावलको छ।

उनी भन्छन्, “बाहिर बाहिर गएर भेला गर्ने कार्यकर्ता भेट्ने कडा कडा अभिव्यक्ति दिनेभन्दा सहमतिबाट संविधान जारी गर्नमा केन्द्रित हुनु उचित हो”।

प्रभाव

एकीकृत माओवादीले भने सहमतिका लागि सत्तारुढ दलहरु नै गम्भीर नभएको र बहुमतबाट संविधान जारी गर्ने दिशामा लागेको आरोप लगाएको छ।

छलफलका लागि डाकिएको महत्वपूर्ण बैठकमा सत्तारुढ दलहरु नै नगएको भन्दै उक्त दलका प्रवक्ता दीनानाथ शर्माले प्रचण्ड केही दिन अनुपस्थित हुंदैमा संविधान निर्माणमा खासै प्रभाव नपर्ने टिप्पणी गरे।

उनले भने, “सत्तारुढ दलका नेताहरु महिनौंसम्म विदेशमा भ्रमणमा जांदा केही नहुने? प्रचण्डजी केही दिनलाई बाहिर जांदा ठूलो विषय बनाउनु ठीक होइन”।

संविधान निर्माणबारे केही समययता औपचारिक संवाद ठप्पप्राय रहेका बेला मंगलबार डाकिएको सम्वाद समितिको बैठकले अवरुद्ध प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ।