बन्ध्याकरण गर्दा ११ महिलाको मृत्यु

  • 11 नोभेम्बर 2014
तस्वीर कपीराइट india
Image caption ज्यान गुमाएका महिलाहरुको पोष्टमार्टम रिपोर्ट प्राप्त भैसकेका छैन

भारतको पूर्वी राज्य छतिसगढमा सरकारले आयोजना गरेको सामुहिक परिवार नियोजन कार्यक्रम अन्तर्गत भएका बन्ध्याकरण शल्यक्रियाका कारण एघारजना महिलाको ज्यान गएको छ।

अन्य कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

छतिसगढ राज्यको पेन्डारी गाउंमा सरकारले स्थापना गरेको स्वास्थ्य शिविरमा असी जना भन्दा बढी महिलाहरुको बन्ध्याकरण शल्यक्रिया गरिएको थियो।

स्थानीय गाउंलेहरुले, ति महिलाहरुको शल्यक्रिया जम्मा ६ घण्टाको अवधिमा एकजना डाक्टर र उनका सहयोगीले हतारमा सम्पन्न गरेका हुनाले उपयुक्त ढंगले हुन नसकेको आरोप लगाएका छन्।

निलम्बन

हालसम्म एघारजना महिलाको ज्यान गएको र अन्य पचास जना महिलाको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ।

ति मध्ये कम्तीमा २० जनाको अवस्था चिन्ताजनक रहेको बताइन्छ।

ति महिलाहरुले बन्ध्याकरण शल्यक्रिया भएको केहि समय पछि नै आफूहरुलाई नराम्रोसंग दु:खेको र चर्को ज्वरो आएको बताएका थिए।

ज्यान गुमाएका महिलाहरुको पोष्टमर्टम रिपोर्ट प्राप्त भैसकेको छैन।

छतिसगढ राज्यका मुख्यमन्त्री रमन सिंहले उक्त घटनाका सम्बन्धमा केही स्वास्थ्य अधिकारीहरुलाई निलम्बन गरिएको बताएका छन्।

छानबिन

उनले भने, "प्रथम जिम्मेवारी हुने अधिकारीहरुलाई खासगरी परिवार नियोजन सम्बन्धी राज्य कार्यक्रम अधिकारी, ज‌िल्लाका मुख्य स्वास्थ्य अधिकारी लगायतका स्वास्थ्य अधिकारी र ति शल्यक्रिया गर्ने डाक्टरलाई पनि निलम्बन गरिएको छ। ति डाक्टरका विरुद्ध एफआइआर उजुरी पनि दर्ता गरिएको छ।"

राज्यका स्वास्थ्य मन्त्रीले बीबीसीसंग कुरा गर्दै ति प्रभावित महिलाहरुलाई मद्दत पुर्याउन सकेसम्म सबै काम भैरहेको बताएका छन् र उक्त शल्यक्रियाको घटनाका सम्बन्धमा के कस्तो गल्ती भयो भन्ने पत्ता लगाउन एउटा छानविन समिति समेत गठन गरिएको उनको भनाई छ।

भारतमा परिवार नियोजन कार्यक्रम अन्तरगत त्यस्ता सामुहिक बन्ध्याकरण शिविरहरु नियमित जसो संचालन गर्ने गरिएको छ।

तर त्यस्ता शिविरहरुको सेवा चाहिं जबर्जस्ती वा बाध्यात्मक तरिकाले लिनै पर्ने भने छैन।