मृतकका आफन्तद्वारा नाइजेरिया सरकारको आलोचना

  • 11 नोभेम्बर 2014
तस्वीर कपीराइट Getty
Image caption आक्रमणमा मारिएका विद्यार्थीहरुको चीर-शान्तिको निम्ति सामूहिक प्रार्थना गरिएको थियो

उत्तर-पूर्वी नाइजेरियाको एउटा माध्यमिक विद्यालयमा भएको आत्मघाती बम आक्रमणका मारिएका ४७ जनाका आफन्तहरुले शान्ति सु-व्यवस्थामा सरकार चुकेको भन्दै आक्रोश पोखेका छन्।

उनीहरुले नागरिक सुरक्षाप्रति गम्भीर हुन सरकारलाई आग्रह गरे।

पछिल्लो पटक आक्रमण गराइएको क्षेत्रमा यसअघि पनि आक्रमणहरु भएका थिए।

आक्रमण लडाकु समूह बोको हरामले गर्दै आएको छ।

जिम्मेवारी

सोमबारको आक्रमण पनि सोही समूहले गराएको हुन आशंका गरिएपनि अहिलेसम्म उसले जिम्मेवारी लिएको छैन्।

सयौं संख्यामा विद्यार्थीहरु भेला भएका बेला आक्रमणकारी स्कूले पोशाकमा पछाडि झोला बोकेर पुगेका थिए।

पछि मात्र थाहा भयो उनी आत्मघाती आक्रमणकारी हुन भनेर।

त्यति बेला उनलाई रोक्न धेरै ढिलो भईसकेको थियो।

उनीसंग सोधखोज गर्ने बेलासम्म बम सक्रिय भईसकेको थियो।

बम विष्फोट हुंदा घटनास्थलमै धेरै विद्यार्थीहरु मारिए।

आतंकवाद

कयौ विद्यार्थीहरु गम्भीर घाईते भएका थिए।

उनीहरुलाई बचाउन नसकिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

आक्रमणमा आफ्ना भाई गुमाएका एक व्यक्तिले अवस्था नियन्त्रण बाहिर जान थालेको भन्दै नागरिकको सुरक्षाका निम्ति सरकारले अझ धेरै गर्नुपर्ने बताए।

उनले भने, “मेरो १६ वर्षका भाई त्यही स्कूलमा पढ्थे। एउटा शव हाम्रो अगाडि ल्याइयो। यसो हेर्दा मेरो भाईको पो रहेछन्।”

राष्ट्रपति गुडलक जोनाथनले आक्रमणलाई लज्जास्पद कार्यको संज्ञा दिएका छन्।

उनले उक्त आक्रमण एउटा झट्का भएपनि आतंकवादविरुद्धको लडाईं जित्नेमा आफ्नो सरकार दृढ रहेको बताए।