आइएस प्रमुखको ‘नयाँ’ अडियो सार्वजनिक

  • 14 नोभेम्बर 2014
Image caption अडियो टेपमा अल-बगदादी अटेरी सुनिएको बीबीसीका अरब सम्पादकले बताएका छन्

इराकमा हालै गरिएको हवाई आक्रमणमा मारिएका वा घाईते भएको हुन सक्ने चर्चा चुलिरहँदा इस्लामिक स्टेट लडाकू समूहले आफ्ना प्रमुख अबु बकर अल-बगदादीको नयाँ अडियो टेप सार्वजनिक गरेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक १७ मिनेट लामो अडियोमा अल-बगदादी अटेरी सुनिन्छन्।

उनले आइएसविरुद्ध अमेरिकी नेतृत्वको आक्रमण असफल बताएका छन्।

तर उक्त अडियोले त्यसमा रहको आवाज अल-बगदादीकै हो कि होईन र कहिले रिकर्ड गरिएको हो भन्ने एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ।

आधिकारिक

यद्यपि अडियो टेपमा बोल्ने शैली र आवाज अल-बगदादीकै जस्तो सुनिन्छ।

उक्त टेपमा अल-बगदादीले एकजना लडाकू बाँकी रहेसम्म आक्रमण नरोकिने बताएका छन्।

संवाददाताहरु भन्छन्, "रिकर्डिङ्ग आधिकारिक र हालै गरिएको जस्तो लाग्छ।"

बीबीसीका विश्लेषकहरुका अनुसार अल-बगदादी मारिएको समाचारको खण्डनको रुपमा पनि पछिल्लो अडियो टेप आएको हुनसक्छ।

इराकको मोसुल सहर नजिकै गरिएको हवाई आक्रमणमा गत साता उनी मारिएको समाचारहरु सार्वजनिक भएका थिए।

तस्वीर कपीराइट AP
Image caption अमेरिकी रक्षामन्त्री चक हेगलले आइएस विद्रोहीलाई यथास्थितिमा रोकिएको बताएका छन्

बिहिबार सार्वजनिक अडियोमा उक्त आक्रमणबारे कुनै कुरा उल्लेख नगरिएपनि त्यसपछिका केही घटनाक्रमबारे चर्चा गरिएको छ।

तानाशाह

उक्त टेपमा लिबिया, इजिप्ट र यमनका जिहादी समूहरुको आवद्धताबारेपनि चर्चा गरिएको छ।

त्यसमा भनिएको छ, “हे इस्लामिक स्टेटका सैनिकहरु! जिहादको ज्वालामुखी सबैतिर फुटाओ। सबै तानाशाहविरुद्ध पृथ्वीमा उज्यालो फैलाओ।”

वासिङ्गटनमा बिहिबार अमेरिकी रक्षामन्त्री चक हेगलले आइएस विद्रोहीविरुद्धको लडाईंले स्थिर र दिगो सफलता पाइरहेको कंग्रेसलाई बताए।

अमेरिकी नेतृत्वको हवाई आक्रमणले आइएस विद्रोहीको लड्ने क्षमता तहसनहस र ध्वस्त पार्न सघाएको तथा उनीहरुले लुक्ने ठाउँ गुमाइरहेको हेगलको भनाई थियो।

उनले भने, “प्रत्यक्ष र इराकी फौजको सहयोगमा गठबन्धन सेनाको हवाई आक्रमणले आइएस विद्रोहीको कमाण्ड र नियन्त्रण तथा उसको नेतृत्व एवं आर्थिक स्रोतमाथि असर पुर्याएको छ।”

आइएस विद्रोहीले इराक र सिरियाको ठूलो भूभागमाथि अझै नियन्त्रण कायम राखेको छ।