'प्रादेशिक सरकार घोषणा गर्ने चेतावनी'

  • 15 नोभेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption प्रचण्डले राजधानी र पूर्वी नेपालमा आयोजना भएको २२ दलीय मोर्चामा पनि यस्तै खालको चेतावनी दिएका थिए

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले अर्को सातासम्म सहमतिको प्रयास गर्ने र त्यसो नभए प्रादेशिक सरकारहरु स्वघोषणा गर्ने चेतावनी दिएका छन्।

शनिबार धनगढीमा आयोजित उनी नेतृत्वको २२ दलीय मोर्चाको सभामा प्रचण्डले मंसीर १ मा डाकिएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सहमतिको अन्तिम प्रयास हुने बताएका हुन्।

मोर्चामा आवद्ध तराई केन्द्रित दल लगायतका घटकहरुले पनि बहुमतीय प्रक्रियाबाट जारी संविधान मान्य नहुने चेतावनी दिएका थिए।

बहुमतिय प्रकृयामा जान खोजेको भन्दै सत्तारुढ दलमाथि खनिँदै आएका अध्यक्ष प्रचण्डले भने, "अझै पनि अन्तिम रुपमा हामी सहमतिको लागि प्रयास गर्छौं, तर उहाँहरु चाहिँ बहुमतकै बलमा पेलेरै जान खोज्नु हुन्छ। पेल्न खोज्नुभयो भने अब सेतीमहाकालीलाई, मगर, थारु, मधेसलाई सरकार घोषणा गर्ने स्वतन्त्रता प्राप्त हुन्छ, उनीहरुसँग निकै ठूलो मुठभेड हुनेछ।"

चेतावनी

२२ दलीय सभामा जातजातिको पहिरानमा झाँकिसमेत प्रस्तुत गरिएको थियो।

प्रचण्डले जनताले गरेको उपलब्धि यतिखेर धरापमा परेकोले देशब्यापि रुपमा त्यसलाई बचाउन २२ दलीय मोर्चा जनतासामू आएको बताए।

यसअघि पनि पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले माघ ८ मै संविधान आउन सक्ने र मंसिर १ को बैठकमा अन्तिम सम्म सहमतिको प्रयास गर्ने बताएका थिए।

उनले भने, "मैले १ गतेसम्म सम्भावना छ बल गर्नुपर्छ भनेपछि माघ ८ भित्र संविधान बन्ने सम्भावना अहिले पनि छ, यो कुरा मैले यति भन्न खोजेको छु कि बन्ने कि नबन्ने भन्ने कुरा कांग्रेस र एमालेको हातमा छ। उनीहरुले यदि सम्झौता तोडेर जान खोजे भने संविधान बन्दैन, उनीहरु सम्झौताभित्र रहे भने हाम्रो तर्फबाट कुनै बाधा हुँदैन।"

विश्लेषकहरु भन्छन्, २२ दलीय मोर्चाले सहमति नभए मुलुकले गम्भीर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइरहँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका लागि परिस्थिति त्यति सहज देखिँदैन।