अमेरिकी सहायताकर्मीको हत्या भएको पुष्टि

  • 17 नोभेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption अब्दुल रहमान क्यासिग अमेरिकी सेनाका पूर्व रेञ्जर थिए

सिरियामा शरणार्थीहरुका लागि काम गर्दै आएका २६ वर्षीय अमेरिकी सहायताकर्मी अब्दुल रहमान क्यासिगको इस्लामिक स्टेटका लडाकुद्वारा हत्या गरिएको अमेरिकी राष्ट्रपति बराक ओबामाले पुष्टि गरेका छन्।

ओबामाले इस्लामिक स्टेट विद्रोहीद्वारा क्यासिगको हत्या गरिनु दानवीय कार्य भएको बताए।

आइएस विद्रोहीले सार्वजनिक गरेको भीडिओमा हत्या गरिएका नकाबधारी व्यक्ति क्यासिगनै भएको ह्वाइट हाउसले जनाएको छ।

क्यासिगका आमाबुवाले सिरियाका मानिसहरुलाई गरेको मायाका कारण उनी मारिएको बताएका छन्।

बन्धक

एउटा शरणार्थी शिविरका लागि काम गरिरहेका बेला क्यासिगलाई बन्धक बनाईएको थियो।

सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएको आइएस विद्रोहीद्वारा हत्या गरिएको उनी पश्चिमा मुलुकका पाँचौ नागरिक हुन्।

मानवीय सहायताकर्मीको रुपमा क्यासिगको प्रशंसा गर्दै राष्ट्रपति ओबामाले दानवीय कार्य अन्तर्गत आतंकवादी समूहले उनको ज्यान लिएको टिप्पणी गरे।

तस्वीर कपीराइट Getty
Image caption छोराको हत्याबाट आफूहरुको मुटु चुडिएको क्यासिगका आमाबुवाले बताएका छन्

उक्त कार्य विश्व जगतका लागि अमानवीय भएको ओबामाको भनाई थियो।

उनले भने, “आज हामीले एकसाथ शोक मनाईरहेका छौं। तर अब्दुल रहमान क्यासिगमा रहेको अजेय असल भावना र दृढतालाई पनि हामीले सम्झिरहेका छौं।”

मानवता

ठूलो अर्थतन्त्र भएको २० मुलुकहरुको समूहको सम्मेलनमा भाग लिई अष्ट्रेलियाबाट स्वदेश फर्केपछि क्यासिगको हत्याबारे ओबामाको प्रतिक्रिया सार्वजनिक भएको हो।

अमेरिकाको इन्डियानामा बस्दै आएका क्यासिगका बुवाआमा एड र पाउलाले उनको हत्याबाट आफूहरुको मुटु चुडिएको विज्ञप्तिमार्फत बताएका छन्।

“मानवताका लागि बाँच्दै आएका आफ्नो छोराप्रति हामीलाई धेरै गर्व छ। उसले छोडेर गएको कामलाई जीवित राख्न आफ्नोतर्फबाट हामीले हरेक दिन सक्दो प्रयास गर्नेछौं,” उनीहरुले भनेका छन्।

यसअघि आइएस विद्रोहीद्वारा दुईजना ब्रिटिस नागरिक र दुईजना अमेरिकी पत्रकारहरुको हत्या भएको थियो।