जेरुसलेम आक्रमणमा कम्तीमा चारजना यहुदीको मृ्त्यु

  • 18 नोभेम्बर 2014
पश्चिम जेरुसलेममा हमला तस्वीर कपीराइट Getty
Image caption यहुदी प्रार्थनास्थलमा हमला गर्ने दुईजना हमलाकारी अधिनस्थ पूर्वी जेरुसलेमका बासिन्दा रहेका बताइएको छ

इजरेली प्रहरीका अनुसार पश्चिम जेरुसलेमस्थित एउटा यहुदी प्रार्थनास्थल,सिनेगोगमा बन्दूक र छुरीहरु बोकेका दुईजना प्यालेष्टीनीहरुले गरेका आक्रमणमा चार जना श्रद्धालुहरु मारीएका छन् भने कम्तीमा अन्य आठजना घाइते भएका छन्।

अधिनस्थ पूर्वी जेरुसलेमका बासिन्दा ति दुई हमलाकारीलाई प्रहरीले गोली हानी मारिदिएको छ। ‌  इजरेलले, जेरुसलेममा छ बर्ष यता भएको त्यस्तो प्रकारको सबैभन्दा ठूलो हिंसात्मक घटनाप्रति चर्को जवाफी कार्वाही गर्ने जनाएको छ।

इजरेली प्रधानमन्त्री बेन्जमीन नेतन्याहुले हिंसा भड्काएको भन्दै हमास र प्यालेष्टिनी प्रशासनका अध्यक्ष महमुद अब्बासलाई दोष दिएका छन्।

उनले अन्तर्राष्ट्रिय समुदायले त्यस्तो कार्य प्रति आंखा ‌ चिम्लीएको भनी गुनासो पनि गरेका छन्। उनको सरकारले, आत्मरक्षाका लागि हतियार बोक्नका लागि इजरेलीहरुमाथि लागु प्रतिबन्ध अब खुकुलो तुल्याइने बताएको छ।

तस्वीर कपीराइट AFP
Image caption जेरुसलेमस्थित धार्मिक स्थल दुई प्रमुख धार्मिक समुदायका मानिसहरुको आस्थाको केन्द्रका रुपमा रहंदै आएको छ

तर एकजना बरिष्ठ प्यालेष्टिनी अधिकारी मुस्तफा बारगुटीले- प्रधानमन्त्री नेतन्याहुले नै विस्फोटक अवस्थालाई भड्काएको र त्यसक्रममा इजरेली र प्यालेष्टिनी दुवैथरीको ज्यान गएको बताएका छन्।

जेरुसलेमस्थित बीबीसी सम्बाददाता केभीन कोनोली भन्छन्, जेरुसलेम एउटा त्यस्तो शहर हो जहां शताब्दीऔं देखि दुई परस्पर विरोधी धार्मीक समुदायबीच चर्को विभाजन कायम रहंदै आएको छ।

गत केहि हप्ता देखि त्यहांको तनावमा एकाएक चर्को बृद्धि भएको देखिएको छ, जुन "पुरानो शहर" भनिने स्थानमा रहेका धार्मिक स्थलहरुमा आराधना प्रार्थना गर्ने अधिकारबारे विद्यमान प्राचीन विवाद पुन: बल्झीएपछिको नतिजा हो।

मुसलमानहरु उक्त स्थानलाई अल हरम अल शरिफ भन्छन् र त्यहांबाट पैगम्बर मुहम्मद स्वर्ग तर्फ गएका विश्वास गर्छन्।

यहुदीहरु त्यसलाई टेम्पल माउण्ट भन्छन् जुन स्थानमा प्राचीन समयमा तिनीहरुको धर्मका पवित्र मन्दीरहरु रहेका थिए भन्ने उनीहरुको विश्वास छ।

पहिलेदेखि चलिआएको चलन अनुसार त्यस स्थानमा मुसलमानहरुलाई मात्र प्रार्थना गर्ने अधिकार छ र अरु धर्मका अनुयायीहरुले त्यहां भ्रमण मात्र गर्न पाउंछन्।

तर पछिल्लो समय केहि धार्मिक यहुदीहरुले त्यस्तो प्रावधानमा परिवर्तन हुनु पर्ने र त्यहां आफूले पनि प्रार्थना गर्न पाउनु पर्ने भन्न थालेका छन्।

त्यस्तो प्रकारको कुनै पनि परिवर्तनको संकेत मात्रले पनि व्यापक इस्लामी विश्वमा गहिरो आक्रोश उत्पन्न गराउन सक्छ।