जलवायु कोषमा धनी देशले रकम उपलब्ध गराउने

  • 20 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption जलवायु परिवर्तन विरुद्ध लड्न धनी देशहरुले सहयोग रकमको प्रतिबद्धता गरेका हुन्

धनी देशहरुको एउटा समूहले पृथ्वीको तापमान बढ्ने समस्यासंग जुध्न कम विकसित देशहरुलाई सघाउने उद्देश्यले स्थापीत विश्व जलवायु कोषमा नौ अर्ब तीस करोड डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

जर्मनीको बर्लीनमा हुन लागेको एक बैठक अघि त्यस्तो रकम योगदानको घोषणा गरिएको छ।

गरिब देशहरुलाई स्वच्छ उर्जा र हरीत प्रविधिमा लगानी गर्न सघाउन संयुक्त राष्ट्र संघले दश अर्ब डलरको प्रारम्भिक प्रतिबद्धता प्राप्त हुने अपेक्षा गरेको थियो।

तीस वटा धनी देशहरुले विकासशील देशहरुलाई हरीतगृह ग्यास उत्सर्जन कटौती गर्न र जलवायु परिवर्तनका नकारात्मक प्रभावसंग जुध्ने तयारी गर्न सघाउन त्यस्तो रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रतिवद्धता

आगामी बर्षको अन्त्यसम्ममा हुने विश्वास गरिएको जलवायु परिवर्तन विरुद्ध लड्ने बारेको नयां सम्झौता हासिल गर्ने दिशा तर्फका कदमहरुको श्रृंखलाको एक भागको रुपमा, कम्तीमा दश अर्ब डलर रहने, त्यस्तो कोषको स्थापना गरिएको हो।

दक्षिण कोरियामा रहने त्यस्तो कोषको स्थापना, बढ्दो समुद्री सतह, खराब आंधी तुफान, बाढी र सुख्खा जस्ता अवस्थाबाट सुरक्षित रहन विकासशील देशलाई मद्दत गर्नका निम्ती पनि गरिएको हो।

यस अघि धनी देशहरुले, सन् २०२० सम्ममा विकासशील देशहरुले प्रतिबर्ष एकसय अर्ब डलर प्राप्त गर्न सक्ने जनाएका थिए।

त्यस्तो कोषका लागि संयुक्त राज्य अमेरिकाले तीन अर्ब र जापानले डेढ अर्ब दिने बताइसकेका छन्।

संयुक्त अधिराज्य, जर्मनी र फ्रान्स प्रत्येकले एक एक अर्ब दिने भनेका छन् भने स्वीडेनले पचास करोड डलर।

स्वीट्जरल्याण्ड, दक्षिण कोरिया, नेदरल्याण्ड्स, डेनमार्क, नर्वे, मेक्सीको, लक्समबर्ग र चेक गणतन्त्रले पनि सानो रकम प्रदान गर्ने भएका छन्।

हालसम्म विश्वव्यापी तापमान बृद्धिमा विकसित देशहरुको जीम्मेवारी बढी भएको र तिनीहरुले गरेका कार्बन डाईअक्साइड उत्सर्जन वायुमण्डलमा एकसय वर्षसम्म रहने हुंदा, जलवायु परिवर्तन विरुद्धको त्यस्तो कोषको स्थापना गर्न सहमति जुटेको थियो।

गरिब देशहरुले, आफ्नो कुनै पनि भुमिका विना बेहोर्नु परिरहेको जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभावप्रति अनुकुलनका लागि सहयोग माग गरेका छन्।