'विश्वकप निर्णय क्रममा भ्रष्टाचार भएकै हो'

  • 20 नोभेम्बर 2014
तस्वीर कपीराइट
Image caption सन २०२२ को विश्वकप फुटबल कतारमा आयोजना गर्ने निर्णय सुनाउँदै चार वर्ष अघि फिफा अध्यक्ष

फिफाकी एकजना सचेतक फिड्रा अल-मजिदले भ्रष्टाचारबारे दुइ वर्ष लामो अनुसन्धानपछि हालै कतारलाई सफाइ मिलेपनि कतारविरुद्ध आरोपहरु दोहोर्याएकी छन्।

उनले कतारको सन् २०२२ मा विश्वकप गर्ने प्रयत्न सफल बनाउने क्रममा भ्रष्टाचार गरेको आरोप आफूले लगाएपछि आफ्नो जिन्दगी भने खतरामा परेको बताएकी छन्।

उनी भन्छिन्, "अब (पछाडि कोही छ कि भनेर) जिन्दगीभर पिठ्युपछाडि हेर्दै बाँच्नुपर्ने स्थिति आइलागेको छ। मैले त्यसयता घृणा, त्रास र खतरासँग जुध्न परिरहेको छ।"

खण्डन

त्यसको प्रतिक्रियामा कतारले भनेको छ- उनीहरु विश्वकप आयोजना आफ्नो देशमा ल्याउन गरिएको प्रयत्नको विश्वसनीयताप्रति प्रतिबद्ध छन्।

कतारको विश्वकप आयोजक समितिले भ्रष्टाचार गरेको आरोपको कडा खण्डन गर्दै आएको छ।

उनीहरुले भनेका छन् - उनीहरुप्रति लागेको आरोप वर्षौं लगाएर गरिएका अनुसन्धान र परीक्षणपछि खारेज भइसकेको छ।

अल-मजिदले कतारी अधिकारीहरुले तीनजना फीफा अधिकारीहरुलाई पैसा दिएको भन्ने आरोप सन् २०११ मा लगाएकी थिइन्।

तर पछि आफ्ना भनाइ फिर्ता लिएकी थिइन्।

बाध्य

अहिले उनले भनेकी छन्- मलाइ आफ्नो भनाई परिवर्तन गर्न बाध्य बनाइएको थियो।

उनले आफ्ना दाबीहरु भ्रष्टाचारको छानविन गरेका वकिल माइकल गारसियासँग दोहोर्याएकी थिइन्।

उनले भनिन्- आफुलाई परेको खतराबारे थाहा पाएपछि सेप्टेम्बर २०११ मा अमेरिकी अनुसन्धान निकाय (एफबीआइ)का अधिकारीहरुले उनलाई भेटेका थिए।

उनले भनिन्- 'त्यसबेला उनीहरुले मलाई खतराबारे र विश्वकप बीडीङ सम्बद्ध भ्रष्टाचारबारे सोधेका थिए। उनीहरुले मलाई आवश्यक परे भ्रष्टाचारको अनुसन्धानमा सहयोग पुर्याउन अनुरोध गरेका थिए।'

वाक्क

अल-मजिदले भनेकी छन्- उनी फिफाको गोप्य राख्ने संस्कृतिबाट वाक्क भएकी छन् र यी सबै कुरा उनले अनुसन्धानकर्ता वकिल गारसियालाई भनेकी थिइन्।

तर नोभेम्बर १३ मा सार्वजनिक गरिएको भ्रष्टाचार अनुसन्धान सम्बन्धी रिपोर्टको सारांश लेखेका न्यायाधीशले भनेका छ्न्- मजिदका प्रमाणहरु असंगत छन्। त्यसैले त्यसको विश्वसनीयतामा प्रश्न उठेको छ।

गारसियाले पनि ती न्यायाधीशले लेखेको सारांशको आलोचना गरेका छन्।