अवैध आप्रवासीविरुद्ध थप कडाई: मलेसिया

  • 21 नोभेम्बर 2014
Image caption गत तीन महिनामा झण्डै ६ हजार गैरकानुनी नेपाली कामदारलाई मलेसियाबाट फर्काइएको बताइन्छ

मलेसियाले गैरकानुनी कामदारहरुलाई हटाउन थप कदम चालिने जनाउंदै यसै वर्षको अन्त्यसम्ममा उनीहरुलाई प्रशासनसमक्ष बुझाउन रोजगारदाताहरुलाई चेतावनी दिएको छ।

मलेसियाली अध्यागमन विभागका नवनियुक्त महानिर्देशक मुस्ताफा इब्राहिमले गतसाता आयोजित पत्रकार सम्मेलनमा आफ्नो मुख्य ध्यान गैरकानुनी आप्रवासीहरु हटाउनमा केन्द्रित हुने बताएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

उनले भने, “‘गैरकानुनी कामदार ठूलो समस्या भएका छन् र नियन्त्रण गर्न चुनौती छ। अब यसमा जिम्मेवार ठानिएकाहरु सबैलाई कडा कारवाही गरिनेछ।”

कानुनी रुपमा करिब २२ लाख आप्रवासी कामदार रहेको मलेसियामा झण्डै त्यतिनै संख्यामा गैरकानुनी कामदारहरु पनि रहेको हुनसक्ने ठानिएको छ।

कारवाही

गैरकानुनी कामदारहरुलाई जागिर दिने रोजगारदातालाई समेत कडा कारवाही गरिने भन्दै अधिकारीहरुले आप्रवासी समस्या समाधानका लागि एउटा छुट्टै आयोग गठन गरिने समेत बताएका छन्।

समाचारहरुअनुसार अध्यागमन अधिकारीहरुले गतसाता त्यहाँ कृषिका लागि प्रख्यात मानिने क्यामरुन हाइल्याण्डका विभिन्न स्थानहरुमा छापा मार्दा ४० जना नेपालीसहित १ सय ८१ गैरकानुनी हैसियतका आप्रवासीहरु पक्राउ परेका थिए।

गत वर्ष त्यस्तै धरपकडमा पक्राउ परेपछि हजारौं नेपाली स्वदेश फिरेका थिए।

सार्वजनिक एक तथ्यांकअनुसार यसै वर्ष जनवरी महिनादेखि अक्टोबरसम्म करिब २५ हजार गैरकानुनी आप्रवासी पक्राउ परेका थिए भने जुलाईदेखि अक्टोबरसम्ममा ५० हजार प्रशासनसमक्ष उपस्थित भई स्वदेश फर्किएका थिए।

गैरकानुनी

क्वालालंपुरस्थित नेपाली दुतावासले गैरकानुनी नेपालीहरुलाई मलेसियाली पूर्वअध्यागमन कर्मचारीहरुको संस्था (कोपरसि इमिग्रेसन बर्हाड मलेसिया) संगको सहकार्यमा स्वदेश फर्काइरहेको जनाएको छ।

उसले यसै वर्षको जुलाई महिनादेखि अक्टोबरसम्ममा ५ हजार ७ सय ५५ जना नेपालीलाई मलेसियाली प्रशासन समक्ष उपस्थित गराएर स्वदेश फर्काइएको बताइएको छ।

नेपाली कामदारहरुको एक प्रमुख रोजगार गन्तव्य रहेको मलेसियामा अझैपनि हजारौं नेपाली गैरकानुनी अवस्थामा रहेको हुन सक्ने अनुमान छ।