अमेरिकामा नयां आप्रवासी सुधारको घोषणा

  • 21 नोभेम्बर 2014
अमेरिकी राष्ट्रपति बाराक ओबामा तस्वीर कपीराइट Reuters

राष्ट्रपति ओबामाले आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै संयुक्त राज्य अमेरिकाको आप्रवास प्रणालीमा सुधारको घोषणा गरेका छन्। राष्ट्रपति ओबामाले झण्डै पचास लाख गैरकानूनी आप्रवासीहरुलाई अस्थायी कानुनी हैसियत प्रदान गर्ने उनको निर्णय पूर्णत: कानून सम्मत भएको बताएका छन्।

अमेरिकी आप्रवास प्रणालीमा गर्न लागिएको ठूलो परिवर्तनकारी सुधारहरुको घोषणा रोनाल्ड रेगनको कार्यकाल यता कै सबैभन्दा ठूलो हो। तर ति सुधारका योजना बाराक ओबामाले विधेयकका रुपमा संसदबाट नभई आफ्नो राष्ट्रपतिय कार्यकारी अधिकारको प्रयोग गरेर गर्दै लागु गर्ने भएका छन्। राष्ट्रपति ओबामाले पंगु बनेको देशको आप्रवास प्रणालीलाई ठीक अवस्थामा ल्याउन कंग्रेस बारम्बार असफल भएकाले आफूले एकपक्षीय रुपमा कदम चाल्नु परेको बताएका छन्। तर विपक्षी रिपब्लीकनहरुको गुनासो छ संसदका सदस्यहरुलाई संलग्न नगराएर राष्ट्रपतिले कुनै सम्राटको जस्तो ब्यवहार देखाएका छन्। महाभियोग

कोही कोही रिपब्लीकनहरुले त उनलाई महाभियोग लगाउनु पर्ने समेत माग गरेका छन्। केहिले भने अन्य नीतिगत क्षेत्रहरुमा ह्वाइट हाउसलाई दिईंदै आएको समर्थन फिर्ता लिएर जवाफी प्रतिक्रिया जनाउने पनि बताएका छन्। एकजना रिपब्लीकन कंग्रेसम्यान ट्रेन्ट फ्र्यांक्स, संवैधानिक उप समितिका अध्यक्ष पनि हुन्, उनले राष्ट्रपति ओबामाको योजना अग्रगामी नभएको बताए।

राष्ट्रपति ओबामाले ले उनको आधिकारीकतामाथि प्रश्न उठाउने विपक्षी रिपब्लीकनहरुले आप्रवास सम्बन्धी विधेयकलाई पारित गरेर देखाउनु पर्ने पनि बताए। उनले भने, “म दुवै दलहरुसंग मिलेर अझ बढी स्थायी प्रकृतिको कानूनी समाधान पारित गराउन चाहन्छु।

“त्यस्तो कुनै विधेयकमा हस्ताक्षर गरेर कानून बनाउन सकिने दिन आयो भने मैले अहिले चालेको जस्तो कदमको कुनै आवश्यकता पर्ने छैन।“

उनको डिमोक्र्याटीक पार्टीले संसदको माथिल्लो सदन, सिनेटमा आफ्नो नियन्त्रण गुमाए यता राष्ट्रपतिले गरेका यो पहिलो महत्वपूर्ण नीतिगत घोषणा हो।

कानूनी हैसियत

तस्वीर कपीराइट Reuters

राष्ट्रपति ओबामाको घोषणा अनुसार अस्थायी रुपमा कानूनी हैसियत प्राप्त गर्ने झण्डै पचास लाख गैरकानुनी आप्रवासीहरु मध्ये धेरै, अमेरिकामा पांच बर्षदेखि बसोबास गरिरहेका, अमेरिकी नागरिक वा त्यहांका स्थायी बासिन्दाका अभिभावकहरु पर्दछन्। यो नयां योजनामा योग्य हुन तिनीहरुले कर तिर्नु पर्नेछ र कुनै अपराध गरेको हुनु हुंदैन।

रिपब्लीकनहरुले राष्ट्रपतिको कार्यलाई सिधै शक्ति हत्याउने कदम भनेका छन् तर ल्याटिनो समुदाय माझ आफ्नो स्थितीलाई क्षति नपुग्ने गरी राष्ट्रपतिलाई कसरी रोक्ने भन्ने विषयमा उनीहरु अनिर्णीत छन्।

संयुक्त राज्य अमेरिकामा झण्डै एक करोड दश लाख गैरकानूनी आप्रवासीहरु रहेको अनुमान गरिन्छ। र राष्ट्रपतिले आफ्नो घोषणलाई आम माफिको रुपमा लिन नहुनेमा जोड दिएका छन्। तर उनले घोषणा गरेका योजनाहरुमा, गत बर्ष कंग्रेसबाट पारित हुन असफल भएको आप्रवास विधेयकमा भएका जस्ता व्यापक प्रावधानहरु भने छैनन्।