भारतीय गणतन्त्र दिवसका मुख्य अतिथि: ओबामा

  • 22 नोभेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption अमेरिकी राष्ट्रपति ओबामा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि बन्ने पुष्टी ओबामाको राष्ट्रिय सुरक्षा परिषदले पुष्टी गरेको छ

अमेरिकी राष्ट्रपति बराक ओबामाले आगामी वर्षको भारतीय गणतन्त्र दिवसको मुख्य अतिथि बन्न गरिएको निमन्त्रणा स्वीकार गरेको ओबामाको राष्ट्रिय सुरक्षा परिषद (एनएससी)ले ट्वीटर मार्फत पुष्टि गरेको छ।

भारतमा हरेक वर्ष जनवरी २६ मा मनाइने गणतन्त्र दिवसमा विदेशी राष्ट्राध्यक्षलाई प्रमुख अतिथि बनाउने चलन छ।

एएससीको ट्वीटमा भनिएको छ- अमेरिकी राष्ट्रपति भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुने यो पहिलो पटक हुनेछ।

राष्ट्रपति ओबामाले भारत अमेरिका सम्बन्ध मजबुत बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अधिकारीहरुसँग भेटघाट गर्नेछन् ।

मुख्य अतिथि

मोदीले ओबामालाई गणतन्त्र दिवसमा भारत आउन निम्तो गरेका थिए।

मोदीले त्यसबारे ट्वीट गर्दै भनेका थिए "अबको गणतन्त्र दिवसमा हाम्रा एक मित्र यहाँ आउन सक्ने संभावना छ। मैले राष्ट्रपति ओबामालाई गणतन्त्र दिवसको मुख्य अतिथि बन्ने पहिलो अमेरिकी राष्ट्रपति बन्न निम्ता गरेको छु।"

यस अघि नरेन्द्र मोदी सेप्टेम्बरमा अमेरिका जाँदा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेटघाट गरेका थिए।

यसै महिना जी-२० सम्मेलनमा मोदी र ओबामाको दोश्रोपटक भेट भएको थियो जहाँ ओबामाले मोदीलाई ‘म्यान अफ एक्सन’ भनेका थिए।

रवैया

अमेरिकाले यस अघि कैयौं वर्षदेखि मोदीलाई प्रवेशाज्ञा दिएको थिएन तर मोदी प्रधानमन्त्री बनेपछि अमेरिकाको रवैया बदलिएको छ।

त्यसैगरी ओबामाले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई टेलीफोन गरी भारत र पाकिस्तान दुइ छिमेकी मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध बढेको हेर्न आफुले चाहेको बताएका छन्।

शरिफको कार्यालयबाट जारी विज्ञप्तीमा दुइ नेताले द्वीपक्षीय मामिला र अन्तर्राष्ट्रिय मुद्दामा कुराकानी गरेको जनाइएको छ।

यसै हप्ता नेपालमा हुने सार्क शीखर सम्मेलनमा सहभागी बन्न काठमाडौं आउँदा भारत र पाकिस्तानका सरकार प्रमुखहरुबीच भेटवार्ताको संयोग पनि जुरेको छ।